माओवादीलाई संविधानसभाको प्रक्रियामा ल्याउ: खुर्सिद
काठमाडौं,३ पुस – भारतीय विदेशमन्त्री सलमान खुर्सिदले संविधानसभाबाहिर रहेका नेकपा-माओवादीसहितका राजनीतिक दललाइ संविधानसभाको प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिएका छन् ।नेकपा-माओवादीसहितका केही दल हाल संविधानसभा प्रक्रियाबाट बाहिर रहेकोतर्फ संकेत गर्दै मन्त्री खुर्सिदले समानुपातिक नामावली तयारीको चरणमा यो सहभागितालाई ख्याल गर्न सुझाएका हुन् । विदेशमन्त्री खुर्सिदले यो धारणा राखेलगत्तै विदेशसचिव सुजाता सिंहले पनि सबै दलको संविधानसभामा सहभागिता रहन सक्नुपर्ने विचार व्यक्त गरेकी छन् ।भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरूले नेपालमा हालै सम्पन्न निर्वाचनमा उत्साहबर्द्धक मत खसेकामा बधाई ज्ञापन गर्दै अब गठन हुने संविधानसभाले समयमा संविधान दिने र नेपालको लम्बिँदो राजनीतिक संक्रमण अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।नेपाली पत्रिकाका एक दर्जनभन्दा बढी सम्पादकहरूसँग अन्तक्रिर्या गर्दै विदेशमन्त्री खुर्सिदले भारतले सधैं स्थिर र सम्पन्न नेपालको चाहना राखेको धारणा दोहोर्याए ।
‘नेपाली जनताले निर्वाचन चाहेका थिए, उनीहरू नतिजा चाहन्थे,’ विदेशमन्त्री खुर्सिदले सोमबार साउथ ब्लकमा भने, ‘जब जनताले केही कुरामा अडान राख्छन्, त्यसको सुनुवाइ हामीले गर्नैपर्छ ।’खुर्सिदले भारत नेपालका कुनै राजनीतिक दल वा विचार निकट नरहेको स्पष्ट पार्दै नेपाली जनताको साथीका रूपमा भारतलाई लिइदिन आग्रह गरे । नेपालको संघीयता स्वरूपसम्बन्धी जिज्ञासामा खुर्सिदले ‘नेपाली जनताको जतिसक्दो बढी सहभागिता रहन सक्ने’ उपयुक्त मोडललाई आत्मसात गर्नुपर्ने सुझाव दिए । साउथ ब्लकमा मंगलबार बिहान सम्पादकहरूसँग कुराकानी गर्दै विदेशसचिव सिंहले पनि नेपालमा संविधानसभाको निर्वाचन हुन सक्नु महत्त्वपूर्ण खुड्किलो रहेको र अबका दिनमा लोकतान्त्रिक, समावेशी तथा सम्पन्न बन्ने दिशामा नेपाल अघि बढ्ने विश्वास व्यक्त गरिन् । ‘चाँडो संविधान आउनसके यसले मुलुकको शान्ति र स्थिरताको बाटोलाई निर्देशित गर्नेछ,’ उनले भनिन् । भारत सरकारका दुवै उच्च पदस्थ अधिकारीले नेपालको संविधानसभा निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको धारणा राख्दै निर्वाचनबाट आएका दुई मुख्य दल कांग्रेस र एमालेलाई एमाओवादी, मधेसी, जनजाति सहितका दलहरूसँग नजिकमा रहेर काम गर्न सुझाव दिएका छन् ।