राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदै
काठमाडौ, ५ पुस । आजदेखि राजधानीमा राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदैछ । सम्मेलनमा सडकमा हुने यातायातका साधन दुर्घटना न्यूनिकरणको बारेमा छलफल हुने बताइएको छ ।दुई दिने सम्मेलनमा सरकारी तथा गैरसरकारी शिक्षण संस्थाका विद्यार्थी, पेसाकर्मी र शैक्षिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टमा हुने सम्मेलनको बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज पन्तले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल अटो मोबाइल स्पोर्टस एसोसियन (नासा) का महासचिव गोबिन्द भट्टराईले जानकारी दिए । महासचिव भट्टराईका अनुसार सम्मेलनमा ५० भन्दा बढि जिल्लाका प्रतिनिधिहरुले भाग लिने छन् । सडकमा हुने सवारी साधन दुर्घटनाको बारेमा सरकारी निकाय, सरोकारवालाहरुबीच छलफल चलाउने र समस्या समाधानको उपाय खोजिने आयोजक नेपाल अटो मोबाइल एसोसियसनले जनाएको छ । सवारी साधन दुर्घटनाको न्यूनिकरणमा सञ्चार माध्यमको भूमिकाको बिषयमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को तर्फबाट पनि कार्र्यपत्र प्रस्तुत गरिने छ । भोलिसम्म चल्ने सम्मेलनमा जम्मा ९ ओटा कार्यपत्र प्रस्तुत हुने महासचिव भट्टराईले जानकारी दिए ।