एमाओवादीले संविधानसभामा जान खुट्टा उचाल्यो

२०७० पुष ९ गते, मंगलवार


काठमाडौ, ९ पुस । एमाओवादीले संविधानसभामा जान खुट्टा उचालेको छ । तीन दलहरुबीच संविधानसभाबाट निर्वाचनमा भएको धाँधलीका बारेमा अनुगमन गर्न संसदिय समिति, संविधानसभा र बाँकी रहेका दलहरु समेटेर उच्चस्तरीय समिति बनाउने, एक वर्ष भित्रमा संविधान जारी गर्ने र मेलमिलाप आयोग गठन गर्ने विषयमा सहमति भएपछि एमाओवादीले संविधानसभामा जान खुट्टा उचालेको हो ।नेपाली कांग्रेस, एमाले र एमाओवादीसहितका ८ दलले चारबुँदे सहमतिमा आज हस्ताक्षर गरेका छन् । आज बिहान तीन दलबीच भएको सहमतिलाई दिउँसो बसेको उच्चस्तरिय राजनितिक समितिले बैठकले अनुमादन गरेपछि ८ दलका शीर्ष नेताहरुले सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमतिको पहिलो बुँदामा संविधानसभा निर्वाचनका सन्दर्भमा उठेका प्रश्नहरुको अध्ययन गरी सुझाव दिन संसदबाट समिति गठन गर्ने उल्लेख छ ।एमाओवादीसहितका दलहरुले चुनावमा धाँधली भएको भन्दै स्वतन्त्र छानविन आयोग गठन गर्न माग गरेपनि संसदीय समिति गठनमा सहमति भएको हो ।
दलहरुबीच शान्ति प्रक्रियाको बाँकी काम र संविधान निर्माणमा सहयोग गर्न समिति गठन गर्ने सहमति भएको छ । एमाओवादीले त्यस्तो समितिको संयोजक प्रचण्डलाई बनाउनु पर्ने बताएपनि सहमतिमा केही खुलाइएको छैन । स्रोतका अनुसार समितिमा कुन-कुन दल सहभागी हुने र संयोजक को हुने भन्ने टुङ्गो लाग्न बाँकी छ ।
सहमतिको तेस्रो बुँदामा १२ बुँदे सहमति, बृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानकेा मस्यौदा ६ महिनाभित्र बनाउने र १ वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धता जनाइएको छ ।यस्तै चारबुँदे सहमतिको अन्ति तथा चौथो बुँदाका रुपमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग तत्काल गठन गर्न पहल गर्ने सहमति भएको छ ।
सहमति पत्रमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]