‘मलाई मेरा मित्रहरुबाट बचाऊ’: बाबुराम

काठमाडौं,१० पुस । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीभित्र एउटै मानिस पदमा दुई कार्यकालभन्दा बढी बस्न हुँदैन भन्ने आफ्नो धारणा फेसबुकमार्फत् सार्वजनिक भए लगत्तै उनले प्रशंसा र आलोचना दुवै खेप्नु परिरहेको छ ।डा. भट्टराईले पार्टीको औपचारिक वैठकमा उक्त प्रस्तावलाई पेस नगरेपनि पार्टीभित्रबाटै उनको उक्त धारणाको धेरै आलोचना भएको पाइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशले फेसबुकमार्फत् भट्टराईलाई इंगित गर्दै उनको आलोचना गरेका थिए ।सायद यस्तै आलोचना सुन्नुपरेर होला, डा. भट्टराईले पनि त्यसबारेमा आफ्नो फेसबुकमा सकारात्मक धारणा राख्दा पनि त्यसको आलोचना भएको भन्दै दुःख व्यक्त गरेका छन् । पार्टीभित्रबाटै आएको नकारात्मक प्रतिक्रियालाई संकेत गर्दै उनले अन्तयमा लेखेका छन्, ‘भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैं सक्षम छु ।’
यस्तो छ डा. भट्टराईको फेसबुकमा
‘ चोरको खुट्टा काट् ‘भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक-राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम व्रित्त भित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने ध्रिष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तर्र्ष्ट्रिय रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ ।
त्यसैले शायद फ्रान्सेली दार्शनिक भोल्तेयरले भनेका थिए – ‘ Oh God, save me from my friends, I can take care of my enemies myself ‘( हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैं सक्षम छु ‘)।