संकट निकासको लागि राजनीतिक सभा अनिबार्य : किरण

२०७० पुष ११ गते, बिहीबार


काठमाडौ, ११ पुस – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दलका शीर्ष नेताहरू उच्चस्तरीय राजनीतिक सभामा बसी राजनीतिक निकास खोज्नुपर्ने बताएका छन् । आफूहरूले पहिलेदेखि नै भन्दै आएको गोलमेच सभाकै विकसित रूपमा त्यसलाई अथ्र्याउँदै उनले त्यसो नभए कुनै प्रक्रियामा सामेल नहुने अडान राखेका छन् ।संविधान निर्माणमा सघाउन ठूला दलका शीर्ष नेताहरू रहने समिति गठन गर्ने सहमतिलाई वैद्यले पुरानै ढर्राको संज्ञा दिए । ‘समिति होइन पहिले उच्चस्तरीय राजनीतिक सभा हुनुपर्छ,’ किरणले भने, ‘संविधानसभा पहिले गोलमेचबाट राजनीतिक प्रश्नको समाधन खोजौं भनेर हामीले भन्दै आएका हौं । हाम्रा कुरा सुनिएन, नेताहरूले पुरानै शैली दोहोर्‍याए ।’ गोलमेच र उच्चस्तरीय राजनीतिक सभा एकै हो कि फरक भन्ने जिज्ञासामा अध्यक्ष किरणले भने, ‘हामीले उठाउँदै आएका राजनीतिक एजेन्डा गर्ने थलो भनेका हौं । त्यसलाई गोलमेच सभाकै विकसित रूप दिन खोजेका हौं ।’ माओवादीले संविधानका अन्तर्वस्तु गोलमेच सभामार्फत टुंग्याउनुपर्ने, राजनीतिक नेतृत्वको सरकार गठन हुनुपर्ने भन्दै संविधानसभा बहिष्कार गरेको थियो । अहिले पनि संविधानसभामा जाने कुनै आधार र औचित्य नरहेको उनले जानकारी दिए । ‘हामी संविधानसभामा कुनै पनि रूपमा जान्नौं’, किरणले बताए ।

प्रतिक्रियाहरु

[anycomment]