भारतद्वारा महाकाली नदीमा तटबन्ध निर्माण
काठमाडौं, १४ पुस -भारतीय सुरक्षा बल एसएसबीले महाकाली नदी किनारमा तटबन्ध निर्माण सुरु गरेको छ । भारतीय पक्षले नदी किनारमा एकलौटी तरिकाले तटबन्ध निर्माण गर्न सुरु गर्दासमेत नेपाली पक्ष मौन छ । भारतीय सीमा सुरक्षा बलले नदी किनारमा तटबन्ध निर्माण गरिरहेको दृश्य नेपाली पक्षले मुकदर्शक भएर हेरिरहेको छ, र त्यसका विरुद्धमा आवाज उठाउने हिम्मत कसैसँग छैन । भारतीय पक्षले एकलौटी तटबन्ध निर्माण थालेको विषयमा जिज्ञासा राख्दा स्थानीयस्तरमा क्रियाशील दलका नेताहरू भारत ठूलो शक्ति रहेकाले त्यस्तो गरिरहेको बताउँछन् भने सुरक्षा निकायका प्रमुखहरू अन्तर्राष्ट्रिय मामिला भएकाले बोल्न नमिल्ने भन्दै पन्छिने गरेका छन् । नेपाली पत्रकारहरूले भारतीय एसएसबीले तटबन्ध गरिरहेका दृश्यहरूको तस्वीर खिच्न खोज्दा धम्की दिइने गरेको छ ।
अझ, भारतीय सेनाका हेलिकोप्टरहरू नेपाली सेनाको ब्यारेकमाथि दिनदिनै उडाउने गरिएको छ, तर नेपाली सेना र प्रशासन रमिते भएको स्थानीयवासीको गुनासो छ ।
भारतकै धौलीघाटका कारणले महाकाली नदीमा बाढी आएको र नेपालतिर यति धेरै क्षति हुन पुगेको हो भन्ने यथार्थ उसले स्वीकार गरिसक्दासमेत नेपाली पक्षले यसका बारेमा अझसम्म बोल्न सकेको छैन ।भारतीय पक्षद्वारा एकलौटीरूपमा महाकाली नदी किनारमा तटबन्ध निर्माण गरेकाले त्यसलाई चाँडै स्थानीय प्रशासनले रोक लगाउनुपर्ने धारणा दार्चुला नागरिक समाजका हंसराज भट्टको छ ।