आज २९२ औं पृथ्वी जयन्ती
काठमाडौं,२७ पुष –आज पृथ्वीनारायण शाहको जन्मदिन । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ । यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ ।र्याली, झाँकी, सभा र माल्यार्पण सहित दिनभरी नै बिभिन्न कार्यक्रमको तयारी छ । पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । नेपाल एकीकरणमा मुख्य भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने समितिको भनाई छ ।
२९२ औं पृथ्वी जयन्ती नागरिक समितिका संयोजक मोदनाथ प्रश्रितका अनुसार राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिन सरकारसँग गरिएको माग पूरा नभएपनि यसमा समर्थन जनाउनेहरुको संख्या बढ्दो छ । अहिले राष्ट्रिय एकता तथा अखण्डता खलबलिने संभावना बढ्दै गएको अवस्थामा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका र योगदानको स्मरण गर्नु झन् बढी सान्दर्भिक हुने समितिले जनाएको छ ।