तीन राजदूतलाई स्वदेश फर्कन पत्राचार

२०७० पुष २९ गते, सोमबार


काठमाडौं, २९पौष ।सरकारले कार्यकाल सकिएका तीन राजदूतलाई फर्किन पत्राचार गरेको छ। परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले अमेरिका, कुवेत र बेलायतका लागि नेपाली राजदूतको कार्यकाल सकिएकाले फर्किएर आउन पत्राचार गरिसकेको जानकारी दिए।उनका अनुसार परराष्ट्र मन्त्रालयले कार्यकाल सकिने मिति स्मरण गराउँदै अमेरिका, कुवेत र बेलायतका लागि नेपाली राजदूत क्रमशः शंकर शर्मा, मधुवन पौडेल र सुरेशचन्द्र चालिसेलाई छ महिनाअघि नै पत्र पठाएको थियो। सँगै पत्र पाएका क्यानडाका लागि नेपाली राजदूत भोजराज घिमिरे र श्रीलंकाका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य फर्किसकेका छन्। शर्मा र चालिसे नेपाली कांग्रेस र पौडेल नेकपा एमालेको कोटाबाट राजदूत भएका थिए।
परराष्ट्रमन्त्री घिमिरेले भने ती राजदूतको समयावधि नथपिने, बरू तत्काल फर्किनुपर्ने बताए। ‘कार्यकाल सकिएका राजदूत फर्किनुपर्छ,’ उनले आइतबार संवाददाताहरूसँग भने, ‘कुनै हालतमा यस्ता राजदूतको म्याद थपिँदैन।’
शर्माको समयावधि कात्तिक १९ गते र पौडेलको कार्यकाल मंसिर २२ गते सकिएको हो। मन्त्रालयले फर्कन भनेर उनीहरूलाई फर्कने बाटो खर्चसमेत पठाइसकेको छ। शर्मा राजदूतकै रूपमा अमेरिकामा छन्। कार्यकाल सकिएपछि अहिले उनी अमेरिकामै बिदाइ भेट गर्दैछन्। पौडेल पनि कुवेतमा नेपाली राजदूतकै रूपमा कार्यरत छन्।
बेलायतका लागि नेपाली राजदूत चालिसेको कार्यकाल माघ ११ गते सकिँदैछ। उनले पनि आफू फर्कने मिति परराष्ट्रलाई जानकारी गराएका छैनन्। कार्यकाल सकिन दुई साता मात्रै बाँकी रहँदा पनि चालिसेले बिदाइ भेट सुरु गरेका छैनन्। बरु कार्यकाल लम्ब्याउन उनले नेपाल–बेलायत कूटनीतिक सम्बन्धको २०० औं वर्ष गाँठ दुई वर्षअगावै कार्यक्रम आयोजना गरेर लन्डनमा एक साताअघि मनाए।
ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहको कार्यकाल पनि माघ ४ गते सकिँदैछ। कार्यकाल सकिनु एक साता अघिदेखि मात्र उनी बिदाइ भेट सुरु गर्दैछन्।
कार्यकाल लम्ब्याउन खोज्ने राजदूतहरूको अभियानमा परराष्ट्रको कर्मचारीतन्त्रसमेत सहयोगी बनेको छ। छ महिनाअघि फर्किन पत्राचार गरेको परराष्ट्र मन्त्रालयले यो विषयमा ताकेता गरेको छैन। बरू मौखिक रूपमा परराष्ट्रका उच्च अधिकारीले उनीहरूलाई ‘उतै बस्न सुझाव’ दिइरहेको स्रोतको दाबी छ। यसमा परराष्ट्रका उच्च अधिकारीको आफैं पनि राजदूत हुने चाहनाले काम गरेको छ। पुस २९ (सोमबार) गते रिटायर्ड हुन लागेका परराष्ट्र सचिव अर्जुनबहादुर थापा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी महासचिवमा सिफारिस भएका छन्।
अहिले फर्किन ताकेता गर्दा राजनीतिक पहुँच भएका उनीहरूले आफ्नो रोडम्यापमा भाँजो हाल्लान् भनेर थापाले ताकेता नगरेको स्रोत बताउँछ। थापा पछिका अन्य उच्च अधिकारी पनि पछि आफू राजदूत बन्ने बेलामा उनीहरूबाट अवरोध खडा होला भन्ने मनोविज्ञानले ग्रसित भएको देखिन्छ, त्यसैले उनीहरू फेरि पत्राचार गरेर ताकेता गर्ने पक्षमा छैनन्।
‘छ महिना पहिला एकै पटक फर्कन तयारी गर्न भनेर पत्र पठाइएकामध्ये २ जना फर्किसके। उनीहरूसँगै कार्यकाल सकिएका राजदूत अझै फर्किएका छैनन्। कार्यकाल सकिन लागेका केहीको फर्कने सुरसार नै छैन,’ स्रोतले भन्यो, ‘राजदूतविना दूतावासको काम गर्न गाह्रो हुन्छ भन्ने तर्क हो भने सँगै फर्कन भनेका दुई राजदूतलाई किन फर्कन दिइयो र उनीहरूसँगै कार्यकाल सकिएकालाई किन अझै फर्काइएको छैन। यहीँबाट नियत स्पष्ट हुन्छ।’

प्रतिक्रियाहरु

[anycomment]