कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्वाचित
कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्वाचित
काठमाडौं,१२ माघ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति सुशील निर्वाचित भएका छन् । दलको नेताको चुनाव जितेसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।आज भएको निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतअन्तरले पराजित गर्दै सभापति कोइराला संसदीय दलको नेता बनेका हुन् । १ सय ९४ मतदाता रहेको संसदीय दलको चुनावमा कोइरालाले १ सय ५ मत पाएका छन् भने देउवाले ८९ मत पाएका छन् । १२ औं महाधिवेशनमा सभापतिको चुनावमा पनि देउवा कोइरालासँगै पराजित भएका थिए।
संसदीय दलको नेता निर्वाचित भएपछि सुशीलले यो लोकतान्त्रिक प्रक्रिया हो र यसमा कसैको हार र जित भएको छैन भनेका छन् । उनले सबैलाई मिलाएर अगाडि लैजान्छु पनि भनेका छन् ।कोइराला खलकका सुशील चौथा पात्र हुन् जो प्रधानमन्त्री बन्न लागेका छन् । कांग्रेसको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री बन्छ । तसर्थ, नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनेको अवस्थामा सुशील नै प्रधानमन्त्री बन्नेछन् । सबैभन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने प्रबल सम्भावना रहेको छ ।