पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन

२०७० माघ १७ गते, शुक्रबार


काठमाडौं,१७ माघ । २०४७ सालको संविधानका मस्यौदाकार तथा पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ । राजधानीको बासबारी स्थित न्युरो अस्पतालमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो । उनी पाँच दिनदेखि न्युरो अस्पतालमा उपचाररत थिए ।परिवारका सदस्यहरुसँग गफ गर्नेक्रममा अचानक ढलेका उपाध्ययको मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । उमेर पाको भएकाले शल्यक्रिया पछि उनी अचेत थिए । चिकित्सकहरुले आँखाले राम्रो प्रतिक्रिया दिएको भएपनि अन्य पक्षमा राम्रो सुधार नभएको बताए । उपाध्यायलाई उठाउन कोशिस गरिएपनि शरीरका कुनै अंगले प्रतिक्रिया नदिएपछि पुनः बेहोस बनाएर भेन्टिलेटरमा राखी मस्तिष्कलाई आराम गर्न दिइएको थियो ।
उपाध्ययको बरिष्ट न्युरो सर्जन डा. उपेन्द्र देवकोटा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । उपाध्याय मुटु रोगी थिए भने फोक्सोमा पनि खराबी भएपछि घाँटीबाट प्वाल पारेर खकार लगायतका विकार पदार्थ निकाल्ने काम भइरहेको थियो ।
उपाध्यायले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँलाएपछि निक्कै चर्चामा आएका थिए ।
मृतक उपाध्यायको पार्थिव शरीरलाई अहिले ११ बजे ज्ञानेश्वरस्थित आफ्नो निवासमा ल्याउने तयारी भइरहेको छ । चार छोरा रहेका उपाध्यय ज्ञानेश्वरस्थित निवासमा आफ्ना जेठा छोरासँग बस्दै आएका थिए । अमेरिकामा रहेका तीन छोरामध्ये एकजना आइसकेको र २ जना आउनलागेको पारिवारिक स्रोतले जनाएको छ ।यसैबीच सर्वोच्च अदालतले पनि उपाध्यायको पार्थिव शरीरलाई आफ्नो परिसरमा राख्ने या नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ । आज सार्वजनिक बिदा भएकाले यस विषयमा सर्वोच्चमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु