कांग्रेस सर्वदलीय बैठक बोलाउदै

२०७० माघ १८ गते, शनिबार

काठमाडौं, १८ माघ । सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसले आज अन्तिम प्रयास गर्ने भएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरी कांग्रेसले आज सर्वदलीय बैठक आयोजना गर्दैछ । यसअघिको सर्वदलीय बैठकमा सबै दललाई औपचारिक पत्र दिएर सरकार गठनमा सहयोग मागेको कांग्रेसले आज दलहरुबाट लिखित समर्थनको आग्रह गर्ने भएको छ ।
कांग्रेसका अनुसार आज दिउँसो २ बजे नयाँबानेश्वरमा बस्ने बैठकमा सभापति सुशील कोइरालाले सरकार बनेपछि गर्ने कामको औपचारिक प्रस्ताव राख्ने र प्रधानमन्त्री बन्न समर्थनको आग्रह गर्ने बताइएको छ । कांग्रेसले सकेसम्म सबैको सहभागिता र नभए समर्थनसहितको सरकार बनाउन पहल गर्ने भएको छ ।
कांग्रेसले सरकारमा सहभागी नहुने र समर्थन पनि नगर्ने अडान राखेका एमाओवादी र राप्रपा नेपाललाई मनाउने प्रयास गर्ने भएको छ । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि भोलिसम्मको समयसीमा दिएका छन् । यसपछि सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनका लागि आह्वान हुनेछ ।संविधानसभाको दोस्रो ठूलो दल एमालेले राष्ट्रपतिको चुनाव हुनुपर्ने भन्दै शक्ति बाँडफाँडको ठोस प्रस्ताव ल्याउन कांग्रेसलाई आग्रह गर्दै यसमा कुरा नमिले प्रतिपक्षमा बस्ने बताएको छ । एमालेसँग कुरा नमिले बहुमतीय सरकार निर्माणमा पनि ढिलाई हुने देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु