एमाओवादी पार्टी भ्रष्टाचार र तस्करको अखडा
काठमाडौं,१८ माघ । एकीकृत नेकपा माओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाउँदै बहिर्गनमा परेका जनसेनाहरुले माओवादी जनसेनाका शिविरमा भएको भ्रष्टाचारको छानविन नगरे हतियार उठाउने चेतावनी दिएका छन् । उनीहरुले सत्ता र शक्तिको आडमा एकीकृत नेकपा माओवादी पार्टीले अरवौको भ्रष्टाचार गरेको आरोप लगाए ।उनीहरुले त्यसको विवरण राज्यले तत्काल छानबिन नगरे अन्तिम अस्त्रको रुपमा हतियार उठाउने चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनीहरुले भने ‘आफूहरु शान्तिपूर्ण तरिकाले पार्टीले गरेका भ्रष्टाचारको मुद्दा किनारा लागोस भन्न चाहान्छौं, राज्य र सम्बन्धित निकायले यो मुद्दालाई वेवास्ता गर्छ भने हामी युएन, अन्तर्राष्ट्रिय निकायसम्म पुग्छौं र त्यस्तै अवस्था आए अन्तिम अस्त्रको रुपमा हतियार उठाउन बाध्य हुन्छौ ।’बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको भन्दै अब ४ हजार ८ जना बहिर्गमित सेनालाई भ्रष्टाचारको विरुद्धमा उतार्ने चेतावनी दिए । उनले सो विषयलाई अख्तियारले हेरिरहेको जानकारी दिँदै चाँडो भन्दा चाँडो त्यो मुद्दा छानबिन गर्न राज्यलाई चाहिने सबै खाले सहयोग र जानकारी दिन तयार रहेको बताए ।
एमाओवादी पार्टी नेता र डिभिजन कमाण्डरहरुले नै सबै पैसा खाएको आरोप लगाउँदै उनले भने ‘राज्यले दिएको पैसा कि राज्यलाई नै फिर्ता गर्नुपर्छ कि सम्बन्धित जनमुक्ति सेनालाई दिनुपर्छ ।’
अध्यक्ष विष्टलाई विभिन्न मुद्दामा न्यायाधीश रामप्रसाद ओलीले १ करोड रुपैयाँ धरौटी राख्नु पर्ने भन्ने फैसला सुनाएपछि उनि २०६९ माघ १० देखि हिरासतमा थिए भने २०७० माघ ९ गते न्यायाधीश वालेन्द्र रुपाखेतीको एकल ईजलासले उनलाई सफाई दिने फैसलापछि गत माघ १० गते कारागार मुक्त भएका थिए ।