१९ औ जनयुद्ध दिवस मनाइदै

२०७० फाल्गुन १ गते, बिहीबार


१ फागुन, काठमाडौं । १८ वर्षअघि आज कै दिन नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको उद्घोष गरेको थियो ।यसै उपलक्ष्यमा आज जनयुद्ध दिवस मनाइदै छ । देशको अधिकांश भूभागमा माओवादीले वैकल्पिक सत्ताको अभ्यास समेत गरेको थियो । पुरानो सत्ता र माओवादीबीच संविधानसभाबाट संविधान निर्माण गर्ने भनेर गरिएको निर्वाचनमा प्रत्यक्ष चुनावमा पचास प्रतिशत विजय हासिल गरेको थियो ।
यसैबीच आज दिनको १ वजे माओवादीले नेवाः राज्य कार्यालय कुपण्डोलमा चियापानको आयोजना गरेको छ ।यसै उपलक्ष्यमा माओवादी मोहन वैद्य ‘किरण’ र महासचिब रामबहादुर थापा बादल ले जारी गरेको प्रेस बक्तब्यको पूर्ण विवरण यस प्रकार रहेको छ – ” उन्नाइसौं महान् जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा
हार्दिक शुभकामना –
हामीले २०५२ फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरेका थियौं । महान् जनयुद्ध नेपालमा सामन्तवाद, साम्राज्यवादीरविस्तारवादी हस्तक्षेप तथा दक्षिणपन्थी संशोधनवादको विरोध र नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा आधारित थियो । दश वर्षको महान् जनयुद्धको प्रक्रियामा हामी रणनीतिक रक्षा र सन्तुलनका चरण पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गरेका थियौं । ठीक यसै बेला पार्टीको एउटा हिस्सामा गम्भीर प्रकारको दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भयो र महान् जनयुद्धले ठूलो धक्का खानु पर्‍यो । त्यस स्थितिमा हामी विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपमा विद्रोहको झण्डा उठाउँदै नेकपा-माओवादीको गठन गरी क्रान्तिको प्रक्रियामा अगाडि बढेका छौं । जबसम्म जनसमुदायमाथि उत्पीडन र दमन हुन्छ, तबसम्म प्रतिरोध, क्रान्ति र मुक्तिको प्रक्रिया निरन्तर जारी रहन्छ ।

अहिले हामी उन्नाइसौं महान् जनयुद्ध दिवस मनाउन गइरहेका छौं । यस अवसरमा हामी महान् जनयुद्धको समग्र प्रक्रियामा देश र जनताको मुक्तिको लागि प्राणको आहुति दिने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र राज्यद्वारा बेपत्ता पारिएका वीर योद्धाहरुको ससम्मान संस्मरण गर्दछौं । साथै, यस ऐतिहासिक अवसरमा सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजन र घाइतेरअपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । यसैगरी यस ऐतिहासिक अवसरमा विश्व सर्वहारावर्ग, सबै कमरेडहरु, मित्रहरु, शुभेच्छुकहरु र आम नेपाली जनसमुदायहरुमा विशेष अभिवादन तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

अन्त्यमा, उन्नाइसौं महान् जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी महान् अमर सहिद, बेपत्ता योद्धा तथा घाइते अपाङ्ग योद्धाहरुका त्याग, वलिदान र वीरताको पुनःसंस्मरण गर्दै जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको महान् उद्देश्य प्राप्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्नका लागि पुनः प्रतिबद्धता जाहेर गर्दछौं । यो बेला राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका हक अधिकारको स्थापना र जनजीविकाका समस्या अत्यन्तै विकराल बन्दै गएका छन् । संविधानसभामार्फत् जनताको संविधान कदापि बन्न सक्तैन । त्यसैले सच्चा देशभक्त, जनवादी र वामपन्थीहरु संघर्षका लागि एकजुट हुनु जरुरी छ । यो बेला विभिन्न समूहमा विभाजित सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुँदै अगाडि बढ्न अनिवार्य रुपमा आवश्यक छ । उन्नाइसौं महान् जनयुद्ध दिवसलाई भव्यतापूर्वक मनाऔं १ जनविद्रोहको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढौं “

प्रतिक्रियाहरु

[anycomment]