मन्त्रिपरिषद विस्तार अन्योलमा

२०७० फाल्गुन २ गते, शुक्रबार


काठमाडौं, २ फाल्गुन । सुशील कोइरालाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको चार दिन बितिसक्दा पनि सत्ता साझेदार दल नेकपा एमालेसँग मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।गृह मन्त्रालय कसले लिने भन्ने विवादमा रुमलिएका दुई दल सो विवादको समाधानको उपाय खोज्ने भन्दा गृह मन्त्रालय एमालेलाई दिने विषयमा सहमति भएको हो कि हैन भन्ने निरर्थक बहसमा अल्झिएका छन् ।
आफूले सपथ लिँदा बिनाविभागीय मन्त्रीका रुपमा डा. रामशरण महतलाई सपथ गराएर मन्त्रिपरिषद गठन गरेका कोइरालाले अहिले पनि दुई सदस्यीय मन्त्रिपरिषदबाटै काम चलाइरहेका छन् ।लामो समयसम्म राजनीतिक नेतृत्व नपाएको मुलुकको प्रशासनले बल्लतल्ल प्रधानमन्त्री पाए पनि कुनै पनि मन्त्रालयले मन्त्री पाएको छैन । मन्त्रालयहरु मन्त्रीबिहीन हुँदा कामकाज ठप्प छ । तर, सत्ता साझेदार दलहरु भने आपसी छलफल गरेर समस्याको गाँठो फुकाउनु भन्दा सार्वजनिक मञ्चबाट आरोप–प्रत्यारोप गर्नमै व्यस्त छन् ।प्रमुख नेताहरुबीचमा गम्भीर संवादसमेत हुन सकेको छैन । प्रधानमन्त्रीको पार्टी नेपाली कांग्रेस र उनलाई समर्थन गर्ने एमालेबीच जारी ‘दन्त–बजान’ले एक वर्षभित्र संविधान निर्माण गर्नेलगायतका सात बुँदे सहमति पनि बेवारिसे बन्ने संकेत देखिन थालेको छ ।
यसैबीच , नेकपा एमालेका संसदीय दलका नेता केपी ओलीले गृह मन्त्रालय आफूहरुले नपाए सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने संकेत गरेका छन् । कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायसँग बिहान आफ्नै निवास बालकोटमा भएको भेटमा गृह नदिने भए अब छलफल पनि आवश्यक नभएको ओलीले जवाफ दिएका वार्तामा सहभागी एक नेताले बताए ।ति नेताका अनुसार ओलीले एमालेलाई गृह नदिने भए संसदको चार वर्षको कार्यकाल भरिनै सरकारको नेतृत्व गर्न कांग्रेसलाई चुनौती दिएका छन् । ‘गृहमा सहमति भएको छैन भन्ने कुरा गर्नुहुन्छ भने अब चारै वर्ष अरुसँग मिलेर सरकार चलाउनुस’ उपाध्यायसँगको छलफलमा ओलीको भनाई उदृत गर्दै ति नेताले भने, ‘हामी दोस्रो पार्टी हो, प्रतिपक्षमा बस्न हामीलाई संकोच छैन ।’छलफलमा कांग्रेस नेता उपाध्यायले प्रधानमन्त्रीलाई कार्यसञ्चालन सहजताका लागि गृह राख्न खोजिएको बताएका थिए । तर ओलीले गृह दिने आधारमै सरकारलाई समर्थन गर्ने सहमति भएकोले आफूहरु त्यसबाट पछि हट्न नसक्ने स्पष्ट पारेका छन् । छलफल पछि नेता उपाध्यायले सहमतिको वातावरण बिग्रदै गएको बताएका छन् । ओएनएस न्यूजसँग कुराकानी गर्दै उनले हुँदै नभएको सहमति भएको भन्दै एमालेले दाबी गरेको बताए । ‘वार्ता टोलीले कहिल्यै गृह दिने भनेको थिएन’ उनले भने, ‘तर कहाँको कुरा ल्याएर एक दिन पछि अर्को दिन झन् कुरा बिग्रदै गएको छ ।’उनले बिहान ओलीसँगको कुराकानी उपलब्धिपूर्ण नभएको बताए । ‘सबै कुरा मैले भन्न मिल्दैन तर छलफल सकारात्मक छैन’ उनले भने । संसद बैठक (दिउँसो ३ बजे) अघिनै सहमतिको प्रयास गर्ने भनिएपनि त्यो सफल नभएको उनले बताए । उनले ‘वातावरण बिग्रिएकोले’ तत्काल शीर्ष नेताको बैठक बस्ने सम्भावना पनि नरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु