आज मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं, १३ फागुन ।प्रधानमन्त्री भएको दुइ सातापछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री कोइरालाले आज दिउँसो मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन् । मन्त्रिपरिषद विस्तार गर्नुअघि कांग्रेस र एमालेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।कांग्रेसलाई रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शान्ति तथा पुनःनिर्माण, सिंचाइ र कानुन तथा न्याय मन्त्रालय भागमा परेको छ ।
त्यस्तै एमालेलाई गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, कृषि तथा सहकारी, भूमिसुधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।कांग्रेसका तर्फबाट महामन्त्री प्रकाशमान सिंह तथा नेताहरू विमलेन्द्र निधि, महेश आचार्य, नरहरि आचार्य, डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव, एनपी साउद, टेकबहादुर गुरुङलगायत मन्त्री बन्ने सम्भावना छ ।कुल २६ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय हाललाई प्रधानमन्त्रीले राख्ने र सहमतिका आधारमा अन्य साना दललाई दिइने भएको छ । मंगलबारै नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने बताइएको छ ।मालेले अध्यक्ष सिपी मैनालीकी पत्नी निलम केसीलाई सरकारमा पठाउने भएको छ भने सुर्यबहादुर थापाले आफ्ना छोरा सुनिललाई मन्त्री बनाउने बुझिएको छ । मैनाली पत्नी निलमले महिला तथा विज्ञानमध्ये एक र सुनिल थापाले आपुर्ति मन्त्रालय सम्हाल्ने बताइएको छ ।