अब बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ नहुने
काठमाडौँ, २४ फागुन । प्रायःजसो बेलुका खाना पकाउने, विद्यार्थीहरु पढ्ने र समाचार हेर्ने बेलामा विद्युत्भार कटौतीको मार खेप्दै आएका सर्वसाधारणले अब भने केही राहत पाउने भएका छन् ।
ऊर्जा मन्त्री राधा ज्ञवालीले शनिवार काठमाडौँमा अन्तर्राष्ट्रिय महिला दिवस-२०७० का अवसरमा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रममा भनिन् , “महिला दिदीबहिनीहरुले घरमा काम गर्ने तथा विद्यार्थीहरु पढ्ने र समाचार हेर्ने बेलामा निकट भविष्यमै बेलुका ६ देखि ९ बजेसम्म विद्युत्भार कटौती नहुने व्यवस्था गर्दैछु ।”
साथै मन्त्री ज्ञवालीले आफू दैनिक १२ घण्टा विद्युत्भार कटौती भइरहेको चुनौतीपूर्ण समयमा ऊर्जा मन्त्री भए पनि पाँच वर्षभित्र मुलुकलाई विद्युत्भार कटौती मुक्त बनाउन कार्ययोजना बनाउनतर्फ केन्दि्रत रहेको जानकारी दिइन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् कमला पन्त, एनेकपा -माओवादी)का केन्द्रीय सदस्य शशी श्रेष्ठ, नेकपा-माआवादीका केन्द्रीय सदस्य जयपुरी घर्ती, राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीलगायतले नेपाली महिला घरको कामकाजमा बढी व्यस्त हुनुपरेकाले पुरुषको तुलनामा पिछडिएको बताए ।
साथै उनीहरुले महिलाले घरमा गरेको श्रमको मूल्याङ्कन नभई अगाडि बढ्न नसकिने भएकाले अब अधिकार र काम दुवै पुरुष र महिलाबीच बराबर हुनुपर्ने कुरामा जोड दिएका थिए । रासस