संविधानसभाले संविधान जारी गर्न सक्दैन : गुरुङ
काठमाडौ,२४ फागुन – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले अहिलेको संविधानसभाले पनि संविधान जारी गर्न नसक्ने बताएका छन् ।
‘संविधानसभाको निर्वाचन भएको यतिका दिन बितिसक्दा पनि दलहरू सामान्य मतभेद र आपसी कलहमा व्यस्त छन्’ क्रान्तिकारी पत्रकार महासङ्घ स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गुरुङले भने, ’जनताले अहिलेको संविधानसभाबाट संविधान पाउने आश गरेका छैनन् ।’
अघिल्लो संविधानसभाले संविधान जारी गर्न नसक्नुको मुख्य दोषी चार दलका शीर्ष नेताहरू भएको आरोप लगाए ।अघिल्लो संविधानसभाबाट २०४७ सालकै संविधान ब्युँताउने प्रयत्न भएको जिकिर गर्दै उनले त्यसमा आफूहरू सहमत नभएका कारण संविधानसभा भङ्ग भएको बताए ।
मुलुकको शान्ति र स्थायित्वका लागि नयाँ जनवादी क्रान्तिको विकल्प नभएको बताउँदै सचिव गुरुङले एकीकृत नेकपा माओवादीले दशवर्षे जनयुद्ध र सहिदको सपनालाई तिलाञ्जलि दिएको आरोप लगाए ।विद्यमान समस्या समाधानका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरी सबै दलहरूले एकापसमा सहमतीय वातावरण तयार गरेरमात्रै संविधान जारी गर्न सकिने उनको भनाइ छ ।त्यसो नभएमा अन्तिम विकल्पका रुपमा आन्दोलनलाई अघि बढाउने उनको चेतावनी छ ।