एमाले महाधिवेशनको कार्ययोजना पारित
काठमाडौं, २८फाल्गुन । नेकपा एमालेको स्थायी कमिटीले नवौं महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले तयार पारेको प्रस्तावलाई पारित गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी कमिटी बैठकले आगामी जेठ २४ देखि ३० गतेसम्म राजधानीमा गर्ने तय भएको महाविधेशन सम्पन्न गर्न महासचिव पोखरेल नेतृत्वको कार्यदलले तयार पारेको प्रस्तावलाई पारित गरेको हो ।प्रस्तावमा पार्टीका जिल्ला अधिवेशनहरु चैत्र १५ गतेभित्र सक्नुपर्ने, महाधिवेशन प्रतिनिधि बन्नका लागि संगठित सदस्यता लिएको पाँच वर्ष पूरा हुनुपर्ने लगायतका विषय समेटिएको छ ।बैठकले एक वर्षभित्र नयाँ संविधान निर्माणका लागि पार्टीको तर्फबाट सरकार र सदनबाट सशक्त भूमिका खेल्ने निर्णय गरेको सचिव विष्णु पौडेलले जानकारी दिए ।
यसअघि केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा महाविधेशन तयारीको विस्तृत योजना बनाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो भने अध्यक्ष झलनाथ खनालको नेतृत्वमा दस्तावेज लेखन समिति गठन गरेको थियो ।