जनसंविधानको निम्ति जस्तो सुकै कदम चाल्छौ : गौरब

काठमाडौं,२८फागुन । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले जनताको संविधान नबनेको खण्डमा पार्टीले जस्तो सुकै कदम चाल्ने सक्ने चेतावनी दिएका छन् । सिन्धुपाल्चोकमा आज आयोजित कार्यक्रममा उनले जनसंविधानको लागि पार्टीले जस्तो सुकै कदम चाल्ने बताउँदै जनताको विरुद्ध लाग्ने साहस कसैले गर्छन् भने त्यसको विरुद्ध हतियार उठाउने सम्मको कदम पार्टीले चाल्न सकिने संकेत गरे ।नेकपा–माओवादीले अहिलेको संविधानसभाले संविधान दिन नसक्ने भन्दै बर्तमान सरकारको औचित्य माथि नै प्रश्न चिह्न उठाइरहेका बेला गौरबले जनताको संविधान नवनाएर धोका दिनेलाई सशस्त्र युद्धमा फर्किएर तह लगाउने दावी गरे ।‘जनसंविधानको लागि पार्टी जस्तो सुकै कदम चाल्न पनि तयार छ’ गौरबले भने,‘सशस्त्र संघर्षमा होमिंदा हतियार उठाउन पनि तयार छौं ।’उनले पार्टीले हतियार उठाउने परिस्थिती सृजना भएमा लुकेर नभई सार्वजनिक रुपमै घोषणा गरेर हतियार बोकिने स्पष्ट पारे ।
नेकपा–माओवादीका कडा टिप्पणी गर्ने नेताका रुपमा चिनिने गौरबले संविधानसभाले जारी गर्ने बुर्जुवा संविधानको कुनै औचित्य नभएकाले नेकपा–माओवादीले सडकबाटै अर्को संविधान जारी गर्ने दावी गरे । एउटा संविधान अहिलेको संविधानसभाले जारी गर्ने र अर्को सडक आन्दोलनबाट नेकपा–माओवादीको नेतृत्वमा जारी हुने तर्क गौरबको छ । गौरबले देशमा राष्ट्रिय स्वाधिनता, जनजीविका र जनसंविधानका लागि आन्दोलनको आँधीबेहरी आवश्यक भएकाले यही चैत्र २४ गतेदेखि पार्टीले आन्दोलन गर्ने जानकारी दिए । ।
अर्को एक फरक प्रसंगमा उपाध्यक्ष गौरबले तत्काल एमाओवादीसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । एमाओवादीका अध्यक्षले माओवादीसँग एकताको प्रस्ताव राखेकोवारे सञ्चार माध्यममा चर्चा–परिचर्चा भइरहेकाबेला उनले एमाओवादीसँग तत्काल एकताको कुनै सम्भावना नरहेको जिकिर गरे ।‘अहिले एमाओवादीसँग एकताको कुनै सम्भावना छैन’गौरबले भने ।