१२ बुँदे सहमति लागु नगरे सशक्त आन्दोलन: विप्लव
काठमाडौं, ३० फागुन । नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले परिवतनलाई संस्थागत गर्न दलहरु तयार नभएका कारण नेपाली जनताले अर्को सशक्त आन्दोलनमा उत्रनुपर्ने बाध्यता आइपरेको बताएका छन् । नेकपा–माओवादी जाजरकोट जिल्लाको तेस्रो जिल्ला सम्मेलन उद्घाटन्का क्रममा सचिव विप्लवले सो कुरा बताएका हुन् । जाजरकोटको सदरमुकाममा आयोजना गरिएको उद्घाटन् समारोहमा बोल्दै सचिव विप्लवले नेपाली कांग्रेस १२ बुँदे सहमतिप्रति इमानदार नभएका कारण शान्तिप्रक्रियाले पूर्णता नपाएको र जवरजस्त अर्को द्धन्द्धको उठान हुने स्थिति बनेको बताए । १२ बुँदे समझदारी शान्तिप्रक्रियाको प्रस्थानविन्दु भएको तर त्यही समझदारीलाई लत्याउनु दुर्भाग्य भएको उनको भनाई थियो । अब देशलाई कतातिर लाने भन्ने सबै कुरा कांग्रेसकै हातमा रहेको उल्लेख गर्दै नेता विप्लवले कांग्रेसले यसलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।
नेपालको राजनीतिक परिवर्तन जनयुद्धकै कारण सम्भव भएको तर्क प्रस्तुत गर्दै नेता विप्लवले अहिले जनयुद्धको नाम निशान नै मेटाउनतर्फ लागेको बताए । अहिले नेपालका गाउँगाउँमा राजनीतिक चेतना निकै उच्च रहेको उल्लेख गर्दै त्यो सबै जनयुद्धका कारण भएको उनले बताए । तर पछिल्लो समय जनयुद्धबाट स्थापित भएका नेताहरुले विचलित भएर जनयुद्धका उपलब्धीहरुलाई नामेट पार्न लागेको भन्दै उनले त्यसप्रति आपत्ती जनाए । साथै उनले अब आफूहरु एकपटक सशक्त आन्दोलन उठान गर्नुपर्ने बाध्यतामा पुगेको बताए । अहिले राज्यले फेरि जनयुद्धकालीन मुद्दाहरु ब्यूताउने दुष्प्रयास गरिरहेको उल्लेख गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले यो गल्ती गरेमा त्यसको परिणाम दुर्भाग्यपूर्ण हुने बताए ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य भरत वम रणवीर, उदयबहादुर चलाउने दिपक, रामदिप आचार्यसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । माओवादीको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।