आज पत्रकार महासंघको ५९ औं स्थापना दिवस
काठमाडौं , १६ चैत्र । नेपाल पत्रकार महासंघले आज आफ्नो ५९ औं स्थापना दिवस मनाएको छ । प्रत्येक वर्ष चैत्र १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । उक्त अवसरमा महासंघ केन्द्रीय कार्यालय तथा देशभरका शाखाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रको आयोजनामा राजधानी काठमाडौंमा बिहान प्रभातफेरी गरिएको छ । बबरमहलबाट सुरु भएको प्रभातफेरीमा उल्लेख्यसंख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । र्याली समापन स्थल बानेश्वरमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शिव गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको संस्थाले आफ्नो ५९ औं वर्ष मनाउनु गौरवको विषय भएको बताए । उनले एक वर्ष भित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई महासंघले निरन्तर दवाब बनाइराख्ने बताए । ‘संविधानसभाले दिन दिनै के प्रगती गर्छ त्यसको जानकारी हामीले राख्ने छौं,’ उनले भने ‘हामी मार्फत अढाई करोड नेपाली जनताले संविधानसभामाथि निगरानी राखिरहेको छ ।’ उनले प्रेस तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध चलिने कुनै पनि कदम विरुद्ध महासंघ सम्झौता रहित ढंगले अगाडि बढ्ने चेतावनी समेत दिए ।
श्रमजीवी पत्रकारहरुको श्रमको कदर नभएको विषयमा पनि महासंघ चुप लागेर नबस्ने भन्दै उनले त्यसका लागि महासंघले कानुनी बाटो समेत अँगालेको स्मरण गराए । ‘सञ्चार प्रतिष्ठानमा २४० दिन काम गरिसकेको सञ्चारकर्मीको रोजगारको ग्यारेन्टी हुनुपर्छ, त्यसमा कुनै सम्झौता हुन्न्’, उनले भने ।
कार्यक्रममा महासंघका पूर्व सभापति हरिहर विरहीले संक्रमणकाललाई छोट्याउन एक वर्ष भित्र संविधान जारी हुनुपर्ने बताए । उनले त्यसका लागि उचित वातावरण बनाउन पत्रकारहरुले भूमिका खेल्न सक्नुपर्ने सुझाए । ‘दलहरुबीच लडाई/झगडा होइन सहमति र सम्वादका लागि हामीले भूमिका खेल्न सक्नुपर्छ,’ उनले भने ।