द्वन्द्वकालिन घट्नालाई लिएर गिरफ्तारी गर्नु औचित्यहिन :भट्टराई
काठमाडौ ,१७ चैत्र – एमाओवादी नेता बाबुराम भट्टराईले द्वन्द्वकालिन घट्नालाई लिएर छुट्टाछुट्टै रुपमा गिरफ्तारी गर्नु औचित्यहिन भएको बताएका छन् ।गोरखा फुजेल घटना पीडित परिवार संघर्ष समितिले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले द्वन्द्वकालका घट्ना सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो नलगाउने भए आफूविरुद्ध मुद्दा चलाउन चेतावनी दिए ।
फुजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेलको रिहाई माग गर्दै दबाव दिन जिल्ला प्रहरी कार्यालय अगाडि आयोजना गरिएको भद्र विरोध सभामा बोल्दै भट्टराईले यसरी गिरफ्तारी गर्नु भनेको शान्ति सम्झौता विपरित भएकाले मेलमिलाप आयोगबाटै टुंगो लगाउनु पर्नेमा जोड दिए । युद्ध सुरु गरेको तात्कालिन माओवादी जनसरकार प्रमुखको हैसियतले सबै घट्नाको जिम्मेवारी आफुले लिने बताउँदै भट्टराईले कार्यकर्ताको गिरफ्तारी रोक्नु पर्ने बताए ।
गृहमन्त्री वामदेव गौतमलाई भेटेर पक्राउ परेका ब्यक्तिलाई रिहा गर्न जानकारी गराएको र रिहा नभए घट्नाले अर्को रुप लिन सक्ने उनले चेतावनी दिए । भट्टराईले पक्राउ परेका दुबै जनालाई प्रहरी कार्यालयमा पुगेर भेटेका थिए । उनी एक घण्टा प्रहरी कार्यालयमा बसेर पक्राउ परेका र र प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलाई भेटेका थिए । फुजेलबाट आएका पक्राउ परेकाका आफन्त र एमाओवादी कार्यकर्ताले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै रिहाईको माग गरेका थिए ।उच्च सुरक्षाका साथ सोमबार बिहानै चितवन आएका भट्टराई दिनभरी पक्राउ परेकाको रिहाईका सम्बन्ध प्रहरी र आफन्तलाई भेट्न ब्यस्त भए ।