एमाओवादी सम्मेलनस्थलमा झडप
काठमाडौं , १६ वैशाख ।एकीकृत नेकपा माओवादी रुपन्देहीको चौथो जिल्ला सम्मेलनमा प्रतिनिधि तथा जिल्ला नेतृत्व चयनका विषयमा विवाद हुँदा झडप भएको छ । सम्मेलनमा असन्तुष्टहरुले कुर्सी तोडफोड गरेका छन् ।शुक्रबार शुरु भएको सम्मेलनले सोमबार बिहानसम्म प्रतिनिधि चयन गर्न नसकेपछि संस्थापन पक्षले ‘आफु अनुकुल प्रतिनिधि र जिल्ला नेतृत्व घोषणा गरेको’ भन्दै असन्तुष्ट पक्षले सम्मेलनस्थल बुटवल हाटबजार लाईनमा रहेको विश्व हिन्दु महासंघको सभाहलमा रहेका एक दर्जनभन्दा बढी कुर्सी, पोडियम, माइक, स्पिकरसमेत तोडफोड गरेका हुन् ।
हलमा जिल्ला नेतृत्व र प्रतिनिधिको नाम वाचन गर्दागर्दै फ्लोरमा रहेका प्रतिनिधि, पर्यवेक्षकले संस्थापन पक्षले होटलमा बसेर आफु अनुकुलका व्यक्तिलाई जिल्लामा ल्याउने काम गरेको भन्दै एकाएक कुर्सी उठाएर फालेका थिए । सम्मेलनमा सहभागीका एक प्रतिनिधिका अनुसार ‘ल हामी नाम सुनाउँछौं, तपाइँहरु ताली बजाउनुस्’ भनेर संस्थापन पक्षले फटाफट नाम वाचन गरेर सम्मेलनबाट नाम पास गराउन खोजेका थिए ।
आक्रोशित असन्तुष्टहरुले मनमौजी रुपमा प्रतिनिधि र जिल्ला नेतृत्व चयन गरेको र त्यो अमान्य हुने भन्दै समानान्तर समिति बनाएका छन् । सोमबार साँझ पूर्व केन्द्रीय सदस्य वामदेव क्षेत्रीको नेतृत्वमा ३८ सदस्यीय कार्यसमिति र ९ जना प्रतिनिधि चयन गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति बनाएका हुन् । सोही कार्यसमिति सदस्यको सोमबार बेलुका बसेको पहिलो बैठकले वामदेव क्षेत्रीलाई अध्यक्षमा चयन गरिसकेको छ । जिल्ला सम्मेलन सकिएलगत्तै बुटवलको एक होटलमा बसेको बैठकले वामदेव क्षेत्रीलाई अध्यक्षमा चयन गरेपनि अरु पद भने खाली नै राखेको छ । ‘विराटनगरमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन जानुपर्ने र यता पनि सक्दो छिटो सक्नुपर्ने भएकाले अहिले साथीहरुले मलाई अध्यक्ष बनाउनुभएको छ, र अरु बाँकी पदमा राष्ट्रिय सम्मेलन सकिएपछि मात्रै निर्णय गर्ने सहमति साथीहरुसँग भएको छ,–नवनिर्वाचित अध्यक्ष क्षेत्रीले भने ।
संस्थापन पक्षले सल्लाहकारमा चयन गरेका उमेश खनालको नेतृत्वमा घोषणा गरेको समानान्तर समितिमा दीपक भण्डारी, दीपक अधिकारी, मन्जु भुसाल, तिलक नेपाली, राजेन्द्र वम लगायत ३८ जना र मनोनित १३ गरी ५१ जना रहेका छन् ।
असन्तुष्ट पक्षले केन्द्रीय समितिमा रहेका व्यक्तिले जिल्लाको नेतृत्व लिन नहुने र १९ जना प्रतिनिधिमध्ये केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार सदस्य रहेका १० बाहेकका ९ वटामा निर्वाचन गराउनुपर्ने माग राखेका थिए ।
‘पूर्व जनमुक्ति सेना र सहीद परिवारको तर्फबाट चुनिने बाहेकका पदमा निर्वाचन गराउनुपर्छ, प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्दा मनोमानी गर्नुहुन्न भन्दा एकलौटी रुपमा निर्णय गरेर नेताहरु भागेका छन्–‘सम्मेलनस्थल विश्वहिन्दू महासंघको परिसरमा असन्तुष्ट पक्षको नेतृत्व गरेका उमेश खनालले भने ।
केही असन्तुष्टहरुले आक्रोश पोखेपनि संस्थापन पक्षले जिल्ला समिति, प्रतिनिधि र सल्लाहकारको टुंगो लगाइसकेको छ । संस्थापन पक्षले वामदेव क्षेत्री, रामप्रसाद बन्जाडे, दधिराम न्यौपाने, देवेन्द्र पाण्डे, यज्ञ पोखरेल, हरि घिमिरे, निर्दोष अली, प्रेम गुरुङ, मनोज राना, लेखनाथ न्यौपाने, गुणाखर भुसाल, मक्सुद अली, शारदा घिमिरे, अम्बिका लामिछाने, दीपा बिक, रिज्जु श्रेष्ठ, सोनिया यादव, सरस्वती पछाइँ, राधा पौडेल, टिका गौतम, कृष्ण पोखरेललगायतका ३८ जना रहेको जिल्ला समितिको चयन गरिसकेको छ । संस्थापन तर्फ रहेका तिरबहादुर रोका र गोविन्द केवटले आफुहरु सो समितिमा नरहने भन्दै समानान्तर समितिलाई समर्थन गरेको घोषणा गरेका छन् ।
फ्लोरबाट अत्याधिक विरोध भएका ९ जना प्रतिनिधि समेत संस्थापन पक्षले छानिसकेको छ । जसमा यज्ञ पोखरेल, कृष्ण पोखरेल, देवेन्द्र पाण्डे, निर्दोष अली, मक्सुद अली, गुणाखर भुसाल, रेशम रसाइली, शारदा घिमिरे र विनोद पहाडीको नाम लुम्बिनी टाइम्सलाई प्राप्त भएको छ ।
एमाओवादीको विधान अनुसार वामदेव क्षेत्री, रामप्रसाद बन्जाडे, दधिराम न्यौपाने, विनोद उपाध्याय, रामचन्द्र भट्टराई, हकिकुल्लाह खाँ, भक्ति पाण्डे, शुसीला त्रिपाली, डिलाराम आचार्य र निमानन्द गैरे गरी १० जना केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारमध्येबाट स्वतः प्रतिनिधि चयन भएका छन् ।
यस्तै संस्थापन पक्षले विनोद उपाध्याय, विनोद पहाडी, प्रदीप उदय, भरत अर्याल, मैयादेवी भट्टराई, शोभाकान्त नेपाल, अम्बर प्रधान, प्रकाश श्रेष्ठ, रियाज अहमद खाँलगायत २५ जनालाई सल्लाहकारमा चयन गरेको छ ।