ओलीलाई थप उपचारको लागि बैंकक लगिदै
काठमाडौ,१७ वैशाख ।नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारको लागि बैंकक लगिने भएको छ ।
उनलाई आज दिउँसो थाइल्याण्डबाट आउने एयर एम्बुलेन्समा त्यसतर्फ लगिने बताइएको छ ।बैंककमा रहेको बुमरुङग्राड अस्पतालमा ओलीको उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीलाई शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हुने फंगल मेनेन्जाइटिस भएको छ । उनलाई अझै केही दिन चिकित्सकहरुको निगरानीमा उपचार गर्नुपर्ने बताइएको छ ।
आइतबार बेलुकी हल्का ज्वरो र वान्ता भएपछि ओलीलाई शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो । सात वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरेपछि ओली पटकपटक अस्वस्थ हुँदै आएका छन् ।
दुई हप्ताअघि मात्र ओली दिल्लीमा उपचार गरेर स्वदेश फर्केका थिए । डाक्टरहरुले आराम गर्न सल्लाह दिएपनि पार्टीको नजिकिएको महाधिवेशनका कारण ओली बिभिन्न कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।