प्रधानमन्त्री कोइराला भारत जाँदै

काठमाडौं, १२ जेठ। प्रधानमन्त्री सुशील कोइराला आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गर्दैछन् । १३ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत जान लागेका कोइराला तीन भारत बसेर जेठ १४ गते र्फकने कार्यक्रम रहेको छ ।कोइरालाको भ्रमण टोलीमा सभासद्द्वय सुजाता कोइराला, सशांक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, तीन जना पत्रकारलगायत टोलीमा सहभागी हुनेछन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि नयाँदिल्लीबाट प्रधानमन्त्री भ्रमण दलमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री कोइराला जेट एयरवेजबाट बिहान साढे नौं बजे दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले आजै भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिहंलाई भेट्ने कार्यक्रम छ । दिल्ली पुगेपछि दिउँसो २ बजेपछि भेटवार्ता हुने कार्यक्रम तय भएको अधिकारीले बताए । प्रधानमन्त्री मोदीसँग भने भोली बिहान भेट्ने कार्यक्रम तय भएको छ ।
भारत भ्रमणका बारेमा कूटनीतिक तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग आइतबार परामर्श गरेका कोइरालाले आफ्नो भ्रमण क्षेत्रीय र द्विपक्षीय सहयोग, शान्ति, स्थायित्व र समृद्धिका विषयमा केन्द्रीत रहने बताएका थिए । कोइरालाले मोदीलाई नेपाल भ्रमणका लागि ल्याउन पहल गर्ने बताएका थिए ।