एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौ, १८ जेठ । नेकपा एमालेले आजदेखि नवौ महाधिवेसनमा पेश हुने अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेजमाथि छलफल गर्ने भएको छ ।
आगामी असारमा २५ देखि २९ गतेसम्म हुने नवौ महाधिवेसनको तयारी र दस्तावेजमाथि छलफल गर्न आज केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा यसअघि बैठकमा अध्यक्ष खनालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
एमाले प्रवत्ता प्रदीप ज्ञवालीले आजबाट केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि भनाइ राख्न सुरु गरेपछि महाधिवेसनको अरु तयारीका विषयमा पनि छलफ हुने जानकारी दिनुभयो । भावी नेतृत्वको लागि नेकपा एमालेमा औपचारीक रुपमै गुटगत उम्मेदवार घोषणा भएका छन् ।
पार्टीभित्र स्थापित नेतादेखि जिल्लातहका कार्यकर्ता पनि दुई कित्तामा उभिएका छन् । उनीहरुले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई आ–आफ्नो अध्यक्षका रुपमा अघि सारेका छन् । नवौ महाधिवेसनका लागि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले हिजो उम्मेदवारी घोषणा गरेको छ ।