चुरे प्रति राष्ट्रपति चिन्तित
काठमाडौं, २०जेष्ठ । राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षणका लागि सरकारी भूमिका प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बढ्दो चुरे विनासले तराईको जनजीवन भयावह बन्दै गएको भन्दै राष्ट्रपति यादवले बेलैमा यसलाई रोक्ने उपाय अवलम्बन गर्न सरकार थप गम्भीर र जिम्मेवार हुनुपर्ने धारणा राखे ।राष्ट्रपति यादवले चुरे संरक्षणका लागि नीति र कानुन बनाएर मात्रै नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्न सरकारी प्रतिबद्धता आवश्यक रहेको बताए ।
विश्व वातावरण दिवसको सन्दर्भमा नेपाल वातावरण पत्रकार समूहले आज राष्ट्रपति भवन शीतल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति यादवले संविधानसभाका अध्यक्षले सभासदहरुलाई चुरे संरक्षणमा विशेष भूमिका निर्वाह गराउन आफ्नो तर्फबाट पहल गर्नुपर्ने बताए ।कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष तीर्थ कोइरालाले चुरे विनासको असर पछिल्लो समयमा चराचुरुंगी र पशुपंक्षीसम्म पर्न थालिसकेको भन्दै तत्काल विनास रोक्नका लागि कडा कदम चालिनुपर्ने बताए ।कार्यक्रममा वातावरण क्षेत्रका विज्ञहरुले सबै मन्त्रालय र सरोकारवालाहरुबीचको समन्वयमा चुरे संरक्षणका लागि प्रभावकारी काम अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।