सर्वपक्षीय भेला गर्न तीन दल राजी
काठमाडौं।नेकपा–माओवादीले अघि सारेको सर्वपक्षीय राजनीतिक सभाको प्रस्तावमा तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी सकारात्मक भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा २६ जेठ बिहान भएको बैठकमा माओवादीको राजनीतिक सभा गर्ने सम्बन्धी प्रस्तावमा छलफल भएको थियो ।
बैठकपछि एमाओवादी नेता बाबुराम भट्टराईले नेकपा–माओवादीले अघि सारेको प्रस्तावमा सबै दल सकारात्मक रहेको बताए । “नेकपा–माओवादीलगायत दललाई संविधान निर्माणमा सहभागी गराउन सरकारको पहलमा छलफल शुरु भएको छ,” उनले भने, “नेकपा–माओवादीले राखेको प्रस्तावका बारेमा सबै दल सकारात्मक हुनाका साथै सबैले आ–आफ्नो दलमा सल्लाह गरी अगाडि बढ्ने सहमति भएको छ ।”
सरकारको व्यवस्थापनमा मुख्य तीन दल र माओवादीको आयोजनामा सर्वपक्षीय राजनीतिक सभा हुनुपर्ने माग अघि सारेको माओवादी उपाध्यक्ष सिपी गजुरेलले जानकारी दिए । उनले आफ्नो प्रस्तावका बारेमा प्रमुख तीन दल सकारात्मक भएको बताए ।
संविधान निर्माण प्रक्रियाभन्दा बाहिर रहेको माओवादीलाई वार्ताद्वारा सहभागी गराउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको निर्देशनबमोजिम सरकारले बैठक बोलाएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।