एमालेको महाधिवेशन खर्च पाँच करोड
काठमाडौ, ३ असार । एमालेले नवौं महाधिवेशनमा पाँच करोड रुपैयाँ खर्च गर्नेगरी आर्थिक कार्ययोजना बनाएको छ । महाधिवेशनका लागि गठित आर्थिक उपसमितिले बनाएको बजेटअनुसार खानामा मात्रै २ करोड रुपैयाँ खर्च हुनेछ । महाधिवेशनमा लाग्ने सबै खर्च सकेसम्म मन्त्री, सभासद्, प्रतिनिधि तथा कार्यकर्ताबाट संकलन गर्ने एमालेको योजना छ ।
प्रतिनिधि, स्वयंसेवक, पाहुना र अन्य जनशक्तिसहित महाधिवेशन अवधिभर हरेक दिन तीन हजारलाई खाना खुवाउने योजना बनाएको एमालेले दुई करोड रुपैयाँ खानामा लाग्ने अनुमान गरेको छ ।महाधिवेशन खर्च दायित्व प्रतिजिल्ला ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म तोकिएको छ । प्रतिसभासद पाँच हजार तोकिएको एमालेले जनाएको छ । एमालेमा एक सय ७३ जना सभासद छन् । पार्टीको तर्फबाट मन्त्री भएका र प्रतिनिधिबाट भने कति उठाउने भन्ने बारे अझै टुंगो लागेको छैन् । रकम संकलनको अवस्था हेरेर मात्र अन्य क्षेत्रबाट सहयोग उठाउने निर्णय आर्थिक उपसमितिले गरेको छ ।महाधिवेशन अवधिभर सहभागी हुने तीन हजार प्रतिनिधिलाई राजधानीस्थित सम्बन्धित जिल्लाका नेता-कार्यकर्ताको घरैमा राख्ने निर्णय एमालेले गरेको छ ।