एमालेको महाधिवेशन दस्तावेज सार्वजनिक
काठमाडौँ, ५ असार । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालबाट प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलबाट प्रस्तुत हुने सङ्गठनात्मक प्रस्तावलाई सो पार्टीले सार्वजनिक गरेको छ ।एमालेका आधिकारिक वेभसाइटमार्फत् ती दस्तावेज सार्वजनिक भएका हुन् ।
दस्तावेज मस्यौदा समितिमा छलफलपछि सर्वसम्मतिबाट तयार गरिएका र केन्द्रीय कमिटीबाट पारित गरिएका उक्त दस्तावेजहरूलाई गहन अध्ययन गरी रचनात्मक सुझाव दिन एमालेले आफ्ना कार्यकर्ता तथा सर्वसाधारणसँग आग्रह गरेको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
एमाले महाधिवेशनको मूल नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण गरौं !’ भन्ने तय भएको छ ।राजनीतिक दस्तावेजले राजनीतिक क्रान्तिको नेतृत्व गर्न सफल पार्टीलाई अब आर्थिक समृद्धि हासिल गर्न देशलाई अगाडि बढाउने, राष्ट्रिय हित र जनताको सुख–समृद्धिलाई केन्द्रमा राख्दै सामन्ती अवशेषलाई समाप्त पार्ने, प्रगतिशील उत्पादक शक्तिको तीव्रताका साथ विकास गर्ने, मुलुकलाई समुन्नति तथा समृद्धिको दिशातिर अग्रसर गराउने कार्यभार रहेको उल्लेख छ ।