सरकार नीति तथा कार्यक्रम ल्याउदै
काठमाडौं, ११असार । सरकारले यही असारको १५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रधानमन्त्री सुशील कोइराला देशमा नभए पनि सरकारले नीति तथा कार्यक्रम ल्याउन तयारी गरेको हो ।
प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि अझै केही दिन अमेरिकामै रहनुपर्ने भएपछि सरकारले प्रधानमन्त्री विनै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो । फोक्सोमा देखिएको कालो दाग बारेको रिपोर्ट भोली आउने भएपनि थप स्वास्थ्य परीक्षणकालागि अरु दिन अमेरिका बस्नुपर्ने भएपछि प्रधानमन्त्री कोइरालाले सभामुख सुवास नेम्बाङसँग टेलिफोन वार्ता गरेका थिए ।
सोही अनुसार कार्यवाहक प्रधानमन्त्री एवं गृृहमन्त्री वामदेव गौतमले आज राष्ट्रपति डा. रामवरण यादवलाई सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे ब्रिफिङ पनि गरेका छन् । असार १५ गते दिउँसो तीन बजे ब्यवस्थापिका संसदमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।
त्यसपछि संसदमा नीति तथा कार्यक्रममा सांसदहरुले आफ्ना धारणा राख्नेछन् । केही दिनको छलफलपछि नीति तथा कार्यक्रम पास गरी बजेट पेश गर्ने तयारी सरकारको छ । बजेट पेश गर्ने दिनको भने टुंगो लागेको छैन ।