माओवादीसँगको सहकार्यमा सडक संघर्ष गर्ने तयारि हुदै
काठमाडौ, १२ असार। माओवादी सहितका पांच कम्युनिष्ट पार्टीहरुले संविधानका लागि सडक र सदनबाट संघर्ष गर्ने गरी कार्ययोजना बनाएका छन् ।एकीकृत नेकपा माओवादीले सदनमा कुरा उठाउने र अरु चार पार्टीले एकीकृत माओवादीसँगको सहकार्यमा सडक संघर्ष गर्ने गरी कार्ययोजना बनाएका हुन् । नेपाली कांग्रेस र एमालेले आफू अनुकूल संविधान बनाउन खोजेको निष्कर्ष निकाल्दै एकीकृत माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत, मातृका यादवको नेकपा माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टीले त्यसो हुन नदिन र पहिचान सहितको संविधानका लागि संघर्ष गर्ने निर्णय गरेको स्रोत जनाएको छ । त्यस्तै एकीकृत माओवादीले नेकपा माओवादी लगायतले उठाउँदै आएको गोलमेच सम्मेलनका बारेमा संविधान सभामा प्रतिनिधित्व गर्ने दललाई सहमत गराउन पहल गर्ने र अरु दलले बाहिरबाट दबाब दिने योजना रहेको छ ।पाँच पार्टीले आम नागरिकका जीविकाको विषयलाई लिएर पनि संघर्षका कार्यक्रम तय गर्ने तयारी गरेका छन् । पाँच पार्टीले गठन गरेको कार्यदलले तयार गरेको कार्ययोजना आज बेलुकी ५ बजे बस्ने पाँच पार्टीको बैठकमा पेश गर्ने र बैठकले अन्तिम रुप दिने बताइएको छ ।