प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएको ठहर

काठमाडौं , १२ असार। प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको प्रमाणित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ सेन्टरका चिकित्सकहरूको टोलीले प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यान्सर भएको प्रमाणित गरेको हो ।प्रधानमन्त्री कोइरालाको फोक्सोको बुधबार दोस्रो पटक ‘बोयोस्पी’ गरिएको थियो । उक्त ‘बायोस्पी’को रिपोर्टले फोक्सोमा क्यान्सर भएको देखाएको प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करबिरनाथ योगीले जानकारी दिए ।फोक्सोमा क्यान्सर प्रमाणित भएपछि उपचारका लागि भोलीबाट ‘रेडियोथेरापी’ सुरु गर्ने तयारी भैरहेको डा. योगीले बताए । ‘चिकित्सकहरूको टीमले ‘रेडियोथेरापी’ पछि स्वास्थ्यमा सुधार आउने विश्वास लिएका छन्’, डा.योगी टेलिफोन मार्फत बताए ।