एमालेको बन्द सत्र जारी
काठमाडौ,२४ असार । नेकपा एमालेको बन्द सत्रमा पेस भएका प्रतिवेदनमाथि भएको समुहगत छलफलबाट आएको निष्कर्ष पेस गरिँदैछ ।भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्रमा हिजो समूहगत छलफलपछि १९ मध्ये १० वटा समूहले वन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि छलफलबाट आएको निष्कर्ष पेश गरेका थिए । बन्दसत्रमा मंगलवार बाँकी ९ वटा समूहले आफ्नो समूहको निष्कर्ष पेश गर्ने छन् ।
प्रतिवेदनमाथि समुहगत छलफलमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको नेताहरुले जवाफ दिने छन् । बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले सांगठनिक, सचिव युवराज ज्ञवालीले बिधान संसोधन, केन्द्रीय अनुशासन अयोग र लेखना परिक्षण आयोगको प्रतिवेदन पेश भएका छन् । प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह बनाइएको छ ।
यसैवीच नेतृत्व चयनका लागि भएको सर्वसम्मतीको प्रयास क्षीण हुँदै गएपछि अध्यक्षका आकांक्षीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली प्यानल बनाएर निर्वाचनमा उत्रिने लगभग पक्का भएको छ । त्यसका लागि दुवै पक्षले प्यानल घोषणाको अन्तिम तयारीमा जुटेका छन् । मंगलवार साँझसम्ममा उम्मेदवारको मनोनयन दर्ता भई निर्वाचन प्रक्रिया सुरु हुने प्रभार विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए ।