एमालेको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु
काठमाडौ ,२६ असार। नेकपा एमालेको नयाँ नेतृत्वका लागि आजवाट निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले बिहीवार विहान निर्वाचन तालिका सार्वजनिक गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।निर्वाचन समितिले २ हजार १ सय ७६ मतदाता रहेको मतदाता नामावली सार्वजनिक गरेको छ । अन्तिम मतदाता नामावली भने विहान साढे ९ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।यस्तै १० देखि २ बजेसम्म उम्मेदवारको मनोनयको समय छुट्टाइएको छ । यसैगरी दिउँसो ३ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता प्रकाशन गरिने छ भने उम्मेदवार विरुद्ध उजुरी दिनका लागि ३ बजेदेखि साढे ३ बजेको समय छुट्याइएको छ । यस्तै विरोधको सूचना भने पौन ४ बजे प्रकाशन गरिने निर्वाचनको कार्यतालिका रहेको छ ।
उम्मेदवारविरुद्ध परेका उजुरी र विरोधमाथि छानविन र निर्णयका लागि पौने ४ देखि सवा ४ बजेको समय तोकिएको छ । यसैगरी उम्मेदवारको नामावली पुनः प्रकाशन साढे ५ बजे गरिने छ भने उम्मेदवारी फिर्ता लिने सयम साढे ६ बजेसम्मका लागि तोकिएको छ । यस्तै उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिने छ ।
नयाँ निर्वाचनका लागि अध्यक्षका प्रत्याशी बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि निर्वाचन भने भोलि विहानबाट ८ बजेबाट साँझ ५ बजेसम्म निर्वाचन हुने छ ।