एमालेको नयाँ नेतृत्वका लागि मतदान हुँदै
काठमाडौ, २७ असार । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ ।एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले नयाँ नेतृत्वको लागि छुट्टाछुट्टै प्यानल सहित उमेदवारी दर्ता गराएका छन् ।
एमालेको निर्वाचन आयोगले बिहीबार राती प्रकाशित गरेको उमेदवारको अन्तिम नामावली अनुसार पदाधिकारी सहित १ सय ५८ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ३५ जनाको उम्मेदवारी परेको छ । त्यसमा दुई प्यानल बाहेक स्वतन्त्र उमेदवार १९ जना छन् ।
मतपत्रमा दुई वटा प्यानल र स्वतन्त्र गरी ३ कोलम राखिने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले बताए । प्यानल सहित हुने चुनावमा पनि मतपत्रमा उमेदवारको सूचि क्रमैसंग राखिने गरिएपनि प्यानल नै छुट्टयाएर मतपत्रमा राखिएको यो पहिलो पटक हो ।
शुक्रबार बिहान ८ वजेदेखि मतदान गर्ने भनिएपनि मतदाता परिचत्र पत्र बाँड्ने र मतपत्र छाप्ने काम नसकिएकोले ढिलो हुने उनले बताए । प्रतिनिधिलाई मतदानको लागि छुट्टै बारकोड युक्त डिजिटल मतदाता परिचयपत्र बाढ्ने काम भैरहेको छ ।