प्रधानमन्त्रीको स्वास्थ्य पुन बिग्रियो

२०७१ श्रावण २६ गते, सोमबार


काठमाडौं , २६ साउन।प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य पुन बिग्रिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रात्रीभोज दिएर सुतेका प्रधानमन्त्री कोइराला भेटघाट र बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पुगेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री कार्यालयमा समेत उनी जान सकेका छैनन् ।न्यूयोर्कको ममोरियल केटरिङ क्यान्सर सेन्टरमा रेडिएशन थेरापी गराएर फर्किएका कोइरालालाई त्यहाँका चिकित्सकले ३ महिना ‘कप्लिट रेष्ट’मा बस्न सुझाव दिएका थिए । प्रधानमन्त्री कोइरालालाई उभिन र बोल्न समेत कठिनाइ भएको छ । फोक्सोको क्यान्सरको रेडिएसन गरिएकाले त्यसको असर देखिएको निजी चिकित्सक डा. करवीरनाथ योगीले अनलाइनखबरलाई जानकारी दिए ।
रेडिएशन गरेको एक महिनापछि त्यसको असर देखिने र गाह्रो हुने जानकारी डाक्टरबाट पहिले नै गराइएको पारिवारिक स्रोतले जनाएको छ । तर, स्थास्थ्यमा थप खराबी देखएपछि तोकिएको मितिभन्दा अगावै उनलाई अमेरिका लगिने भएको छ । संयुक्त राष्ट्र संघीय महासभाको बैठक अगावै उपचार गरेर सभामा भाग लिन सक्ने बनाउने कोइराला कोटरीको तयारी रहेको बुझिएको छ ।
कोइरालालाई पछिल्लो समयमा उच्च ज्वरो आउने, खोकी लाग्ने र जिउ सुन्निने समस्या देखिएको छ । स्रोतका अनुसार जिउका विभिन्न भागमा दुख्ने तथा आँखाबाट आँशु झर्ने समस्या पनि देखिएका छन् । रेडिएशन थेरापीको असर मात्र हो कि अरु समस्या देखिएको हो भन्नेबारे अझै अनुसन्धान भइरहेको डा. योगीले बताए ।
‘उतैका डाक्टरले तीन महिना आराम गर्नु भनेका छन्, अरु थप जानकारी छैन’ उनले भने । योगीका अनुसार अझै कम्तिमा दुई महिना कोइरालाले पूर्ण आराम गर्नुपर्छ । योगीको टिमले उनको नियमित स्वास्थ्य परीक्षणसहित निगरानीमा राखेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई जाडो महसुस हुने, काम्ने र शरीर दुख्ने समस्या देखिएपछि हिटरबाट सेक्ने गरिएको छ । साउनको गर्मीका बेलामा समेत हिटरको सहायता लिनुपर्ने अवस्था आउनुलाई चिकित्सकले सहज मानेका छैनन् । कोइरालाको रक्तचाप पनि उच्च देखिएको र त्यो १८० सम्म पुगेको ओम अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा समस्या बढेर क्षयरोगको संकेत देखिएपछि गत विहीवार चाबहिलस्थित ओम अस्पतालमा लगेर परीक्षण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु