भ्रष्टाचारबाट देशलाई बचाउनुस् : प्रधानमन्त्री
काठमाडौँ, २७ साउन। राष्ट्रिय सतर्कता केन्द्रको १२ औँ बाषिर्क प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारबाट देशलाई बचाउन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गरेका छन् । कोइरालाले राष्ट्र सेवक कर्मचारीहरुले राष्ट्रको हित हेर्नुपर्ने र अरुको दबावको पछि नलागी आफ्नो विवेकमा अड्न सक्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सतर्कता केन्द्रको १२ औँ बाषिर्क प्रतिवेदन सार्वजनिक गर्दै कोइरालाले भने,’देशको विकासको लागि छुट्टयाएको अर्बौ अर्ब रकम कतिको सदुपयोग भएको छ ? सतर्कता केन्द्रले छानविन गरोस् । हामीपछि हाम्रा सन्तति पनि छन् । हामीले उनीहरुको निम्ति सोच्नु पर्दछ ।’
मुलुकलाई सही मार्गमा लैजाने उपयुक्त समय आएको बताउँदै प्रधानमन्त्री कोइरालाले भने,’यो भन्दा राम्रो अवसर अरु आउदैन । भ्रष्टाचार रोकौं । मन्त्री हुन कि को हुन कसैलाई छोड्दिन् ।’ प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सतर्कता केन्द्रका उच्च पदस्थ कर्मचारीहरुलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिए । उनले भने,”पार्टीका नेता, मन्त्री, उपप्रधानमन्त्री जसले जे भन्यो, त्यही नगर्नुस् । नियम कानून अनुसार देश र जनताको हितमा काम गर्नुस् । अब सचेत होऔ । नेपाललाई बचाआैँ । म तपाईहरुको पक्षमा उभिन्छु । सबैले आ-आफ्नो स्थानबाट सहयोग गरौं ।”
प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारबाट देशलाई मुक्त पार्नु पर्नेमा जोड दिए । उनले भने,’सबै मिलेर काम गरौँ । हाम्रो विवेकलाई उच्च सतर्कतामा राखौं । अबाञ्छित दबाव नमानौं ।’ प्रधानमन्त्री कोइरालाले देश प्राकृतिक स्रोतमा धनी भएर पनि त्यसको समुचित उपयोग गर्न नसक्दा जनता गरीब बन्न परेको बताए ।
राष्ट्रिय सतर्कता केन्द्रको १२ औं प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले केन्द्रलाई स्रोत साधन र कानूनी अधिकारले सम्पन्न गरेर भ्रष्टाचारको अनुसन्धान गर्न सक्षम सरकारी निकायको रुपमा विकसित गर्न आवश्यक भएको बताएका थिए ।