विपीको सम्झनामा पदयात्रा गरिदै
काठमाडौ, १ भदौ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता वपी कोइरालाको जन्मशताब्दीको अवसरमा आजदेखि पदयात्रा सुरु गरेको छ । साउन ६ गते विराटनगरबाट सुरु भएको विचारयात्रा अन्तर्गत आइतबारदेखि पदयात्रा सुरु भएको हो ।२००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ गरी विपी कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणी प्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडौ ल्याउँदाको मार्गमा पैदलै पुग्नेगरी यो अभियान गरिएको हो ।विपीका राजनैतिक, आर्थिक, सामाजिक चिन्तन एवं विचारलाई जनस्तरसम्म पुर्याउने, विपीको सपना अनुसार भविष्यको नेपाल, भविष्यको समुन्नत नेपाल निर्माणको संकल्प दोहोर्याउदै विपी विचारको सान्दर्भिकतालाई थप स्पट गर्ने, नयाँ पुस्तालाई नेपाली कांग्रेस र विपीको योगदान र महत्ववारे जानकारी गराउने तथा समयमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकुल वातावरण बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार आइतबारदेखि लगातार धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौसम्म विपीलाई वास राखिएको, खाना–खाजा खुवाइएको तथा अन्य ऐतिहासिक महत्व वोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ । एक जिल्लाले अर्को जिल्ला, एक गाविसले अर्को गाविसलाई निरन्तर हस्तान्तरण गर्नेगरि यात्राभरि व्यापक स्तरमा जनपरिचालन गरिनेछ ।
यसबीच ओखलढुङ्गामा कवि गोष्ठी तथा विपीको पुर्ख्यौली सिन्धुलीको दुम्जामा बृहत स्वास्थ्य शिविर आयोजना हुनेछ । हरेक जिल्लामा कम्तीमा एउटा विशेष कार्यक्रम आयोजना हुने र अरु ठाउँ ठाउँमा साँस्कृतिक कार्यक्रम, विचार गोष्ठी, भिडियो प्रदर्शनी आदि कार्यक्रम सञ्चालन गरिनेछन् र भाद्र २३ गते काठमाडौको विशालनगरमा विशेष विचारसभा आयोजना गर्ने कांग्रेसले जनाएको छ । विपीलार्इ लामो समयसम्म बन्दी बनाएको सुन्दरीजल (हालको विपी संग्रहालय) मा भदौ २४ गते अभियान समापन हुनेछ ।
पदयात्रालाई व्यवस्थित गर्न कांग्रेसले त्यसै अनुसारको योजना बनाएको छ । झण्डै तीन हप्ता लगातार पैदल हिँड्नको लागि थोरै संख्यामा मात्र नेता कार्यकर्ता सहभागी गराउने तयारी छ । पदयात्रामा पर्ने जिल्ला र गाविसका हरेक नेता कार्यकर्ता कार्यक्रममा सहभागी हुनेछन् । एउटा गाविसबाट अर्को गाविस अनि एउटा जिल्लाबाट अर्को जिल्लामा पुग्दा सम्बन्धित जिल्ला र गाविसका स्थानीय नेतृत्वलाई कार्यक्रम हस्तान्तरण गरिनेछ ।