बाबुराम समूहद्वारा काठमाडौंमा छुट्टै जिल्ला समिति गठन
बाबुराम समूहद्वारा काठमाडौंमा छुट्टै जिल्ला समिति गठन
काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई समूहले काठमाडौंमा छुट्टै जिल्ला समिति गठन गरेको छ ।आज दिउसो तीन बजे नयाँ बानेश्वरमा रहेको अल्फाविटा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी भट्टराई समूहको जिल्ला समिति सार्वजनिक गर्ने तयारी गरिएको छ ।स्रोतका अनुसार नेता महेन्द्र श्रेष्ठको संयोजकत्वमा भट्टराई समूहको समानान्तर जिल्ला समिति बन्न लागेको छ ।
यसअघि विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई पक्षवीच भएका समानान्तर जिल्ला समितिहरु विगठन गरी नयाँ समितिहरु गठन गर्ने तयारी सैद्वान्तिक सहमति भएको थियो । एमाओवादीका अरु निर्णय जस्तै यो पनि कार्यन्वयन नभएको बेला भट्टराई पक्षले राजधानीमा नै समानान्तर कमिटि गठन गरेको हो ।
काठमाडौंमा गठन भएको भट्टराई पक्षको समानान्तर जिल्ला समिति सार्बजनिक गरिने कार्यक्रममा सहभागी हुने देबेन्द्र पौडेल वा टोपबहादुर रायमाझीलाई संस्थापन पक्षले कारवाही गर्न सक्ने अनुमान गरिएको छ ।
यही कारण यसअघि गंगा श्रेष्ठ र रामरिझन यादबलाई कारवाही गरिएको थियो ।
काठमाडौंमा यसअघि अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका हिमाल शर्माको अध्यक्षतामा कमिटि बनेको थियो । यही कमिटिको उपाध्यक्षमा रहेका श्रेष्ठको अध्यक्षतामा समानान्तर कमिटि बन्नेको हो ।
नेता डा. भट्टराईले पछिल्लो पटक जोड दिदै आएको नयाँ शक्तिको बहसलाई एमाओवादीको संस्थापन पक्षले स्विकार गरेको छैन । तर भट्टराईले आफ्नो अभियान निरन्तर अघि बढाइरहेका छन् । दुई पक्षबीच विवाद चर्किदै गएपछि यसले विभाजनको रुप लिने विश्लेषकहरु बताउँछन् ।
यसअघि हालको नेकपा–माओवादी विभाजन हुने बेलामा समेत यस खालका परिदृष्यहरु देखिने गरेका थिए । भट्टराई पक्षले अब प्रचण्डको नेतृत्वबाट अघि बढ्न नसकिने निश्कर्ष निकालिसकेको छ । यसले ढिलो या चाँडो एमाओवादी विभाजन हुने निश्चित रहेको विश्लेषकहरु बताउँछन् ।