एमाओवादीले संसद बैठक अवरुद्ध पार्ने
काठमाडौ, १० भदौ ।एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।त्यसका लागि एकीकृत नेकपा माओवादीले मधेसवादी दल सहितको मोर्चासंग अहिले बिहान छलफल गर्न थालेको छ । शान्ति र संविधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्मका लागि अब सदन चल्न नदिने एकीकृत माओवादीले जनाएको छ ।
आज मोर्चासंग छलफल गर्ने र बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा उपलव्ध केन्द्रीय नेताहरुसंगको छलफलका आधारमा सदन रणनीति तय गर्ने नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
व्यवस्थापिका संसद वैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले सहमति अनुसार उच्चस्तरीय राजनीतिक समिति बनाउन नसकिने बताएपछि माओवादीले आइतबार तीनदलको बैठक समेत वहिष्कार गरेको थियो ।