एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौ, २२ भदौ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।एसएलसीको पुरक परीक्षामा ६५ दशमलव २१ प्रतिशत विद्यार्र्थी उत्तिर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख २० हजार ३ सय १७ जना परीक्षार्थी सहभागी भएकोमा ७८ हजार ४ सय ५३ जना उत्तिर्ण भएका हुन् ।
परीक्षा नियन्त्रक विष्णुवहादुर द्वारेका अनुसार परीक्षामा सहभागी ६५ हजार ३ सय ७८ जना छात्रामध्ये ४१ हजार ६ सय २२ जना उत्तिर्ण भएका छन् । त्यस्तै छात्रतर्फ ५४ हजार ९ सय ३९ जना सहभागी भएकोमा ३६ हजार ८ सय ३१ उत्तिर्ण भएका छन् ।
नतिजा अनुसार प्रथम श्रेणीमा दुइ हजार एक जना, दोस्रो श्रेणीमा ५९ हजार ८६ जना र तृतीय श्रेणीमा १७ हजार ३ सय ६६ जना उत्तिर्ण भएका छन् । २ सय ४४ जनाको परक्षिा स्थगित गरिएको तथा ४८ जनाको रद्द गरिएको परीक्षा नियन्त्रक द्वारेले बताए ।