मन्त्री हेरफेरले एमालेमा भुकम्प
काठमाडौ, २८ भदौ । सत्तारुढदल नेकपा एमालेभित्र अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले २ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्तिकालागि सिफारिस गरेपछि विवाद बढेको छ । एमाले संसदीय दलको सिफारिस अनुसार हिजो प्रधानमन्त्री सुशील कोइरालाले उद्योग मन्त्री कर्णबहादुर थापा र संस्कृति मन्त्री भीम आचार्यलाई फिर्ता पठाएर महेश बस्नेत र दिपक अमात्यलाई मन्त्रीमण्डलमा समावेश गरेका थिए ।
यस बिषयलाई लिएर नेता माधब कुमार नेपाल पक्षले असन्तुष्टि जनाएको हो । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा कुनै छलफल नभएको र मन्त्री हटाइएको र थपिएको कुरा समाचारबाट थाहा पाएको बताए ।निकै आक्रोशित मुद्रामा रहनु भएका उपाध्यक्ष ज्ञवालीले अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले आफुहरुका कुरा नसुनेको बताउँदै कुनै दिन सुन्ने दिन पनि आउने चेतावनी दिए ।
उता उद्योग मन्त्रीबाट हटाइएका कर्ण थापाले आफुलाई लगाइएको आरोप प्रमाणित गर्न अध्यक्ष ओलीलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले उद्योगमन्त्री थापाले एमालेको महाधिबेशनका नाममा जथाभावी पैसा उठाएको र हिसाब पारदर्शी नभएको आरोप लगाएको सार्वजनिक भएको थियो । तर थापाले आफुमाथि लगाएको आरोप प्रमाणित भए एमालेको साधारण सदस्यता पनि त्याग्ने चेतावनी दिए ।