सार्कका गृहमन्त्रीस्तरिय बैठक सुरु हुदै
काठमाडौ, १ असोज । सार्क राष्ट्रका गृहमन्त्री, गृहसचिव र अध्यागमन अधिकारीहरूको छैठौं बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।आज सार्क अध्यागमन अधिकारीको बैठक, भोलि सार्क गृह सचिवस्तरीय बैठक र पर्सी सार्क गृहमन्त्रीस्तरीय बैठक हुने गृह मन्त्रालयले जनाएको छ ।
सार्क गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार गर्ने कार्यक्रम तय भएको छ ।
सार्कका गृहमन्त्रीहरू, गृहसचिव र अध्यागमन अधिकारी सहभागी हुने उक्त बैठक सन् २००६ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ ।
बैठकले यसअघिका सार्क शिखर सम्मेलनमा व्यक्त प्रतिबद्धताका विषयलाई प्राथमिकतामा राख्दै दक्षिण एसियामा आतङ्कवाद, लागुऔषध कारोबार, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रणलगायत विषयमा छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्नेछ ।
बैठक सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा तयारी समिति गठन भई तयारीका सम्पूर्ण कार्य पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।