प्रधानमन्त्री कोइराला न्युयोर्क जादै
काठमाडौ, ३ असोज । प्रधानमन्त्री सुशील कोइराला आज संयुक्त राष्ट्र संघको ६९ औ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका छन् ।परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, कायम मुकायम परराष्ट्र सचिव शंकरदास वैरागीसहितको २२ जनाको टोली आज न्युयोर्क जान लागेको हो ।परराष्ट्र मन्त्रालयका अनुसार महासभालाई प्रधानमन्त्रीले असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क जाने क्रममा प्रधानमन्त्री कोइरालाले युएईको अबुधाबीमा असोज ४ गते मध्यपूर्व, पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघका महासचिव वानकी मुनले आयोजना गर्ने विशेष समारोहलाई सम्बोधन गर्नेछन ।
न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । प्रधानमन्त्री कोइरालले अमेरिका रहदा आफ्नो स्वास्थ्य परिक्षण पनि गराउने छन् । प्रधानमन्त्री कोइराला असोज १६ गते नेपाल फर्कने कार्यक्रम छ ।