नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक बस्दै
काठमाडौ, ६ असोज । नेपाल भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक आजबाट सुरु हुने भएको छ । बैठकमा विगत २२ वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ संयुक्त बैठकको आयोजना गरिएको हो ।महकाली नदीमा निर्माण हुने सो बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सहमति भएको थियो ।सोही सहमतिअनुसार संयुक्त बैठकको आयोजना गरिएको पञ्चेश्वर जलविद्युत् आयोजनाका आयोजना प्रमुख चिरञ्जीवी चटौतले जानकारी दिनुभयो ।
बैठक आयोजनालाई कसरी अगाडि बढाउने तथा लागत के कति लाग्ने हो र निर्माण प्रक्रिया के कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित हुने उहाँको भनाइ छ ।
बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, सहसचिव केशवध्वज अधिकारीलगायत, नेपाल विद्युत् विकास विभाग, सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण, अर्थ र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी हुनुहुनेछ भने भारतका तर्फबाट जलस्रोत सचिव आलोक राउतको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनुहुनेछ । कुल पाँच हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने र दुवै मुलुकको बृहत् क्षेत्रमा सिँचाइ सुविधासमेत उपलब्ध गराउने लक्ष्य राखिएको सो आयोजनालाई रणनीतिक महत्वको आयोजनाको रुपमा लिने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा उक्त आयोजनालाई छिट्टै अगाडि बढाउने ध्येयका साथ उच्चस्तरीय पञ्चेश्वर प्राधिकरणसमेत गठन गर्ने सम्झौता भएको थियो ।
भारतसँग विद्युत् खरिद सम्झौता र भारतीय प्रवद्र्धक जिएमआरसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना सम्झौता समेत भइसकेको अवस्थामा पञ्चेश्वरको विषयलाई लिएर पहिलो पटक महत्वपूर्ण छलफल हुन लागेको हो ।