रहिनन् वरिष्ठ बामपन्थी नेतृ साहाना प्रधान

२०७१ आश्विन ७ गते, मंगलवार


काठमाडौं, ७ असोज । नेपाली महिला आन्दोलनकी धरोहर तथा एमाले नेतृ सहाना प्रधानको निधन भएको छ । ८७ वर्षिय सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर अहिले ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिएको छ । श्रद्धाञ्जली दिन एमालेसहित अन्य दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । उनको आजै शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमालेले जनाएको छ ।
प्रधान तीन वर्षदेखि नसाको समस्याबाट पीडित थिइन् । सहाना लामो समयदेखि बोल्न समेत सकेकी थिइनन् । केही समय तत्कालीन बर्मामा बितेको थियो । उनले २००३ सालतिर दशमै पहिलो पल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन् ।
२००४ सालमा दिदी साधना र महिला नेतृ मंगलादेवी सिंहसँग मिलेर नेपाल महिला संघ स्थापना गरी उनी राजनीतिमा होमीएकी थिइन् । भारतमा उच्च शिक्षा हासिल गरेकी नेतृ प्रधानको विवाह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भएको थियो ।
२०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिडेकी प्रधान २०१७ सालको राजनीतिक काण्डपछि पढाइतिरै फर्केकी थिइन् । २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागेकी थिइन । २०३७ सालमा पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुनः बढेको थियो । २०४६ सालमा संयुक्त वाममोर्चाको अध्यक्षको हैसियतमा जनआन्दोलनमा लागकी साहना तत्कालिन अन्तरिम मन्त्रिपरिषद्मा दोस्रो मर्यादाक्रममा मन्त्री बनेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]