कांग्रेसले चियापान कार्यक्रम गर्ने

२०७१ आश्विन २० गते, सोमबार


काठमाडौं । नेपाली कांग्रेसले विजया दशमीको अवसर पारेर कोजाग्रत पूर्णिमाका दिन अर्थात असोज २१ गते पार्टी कार्यलय सानेपामा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रममा सहभागीताका लागि प्रमुख राजनीतिक दलका अध्यक्ष, पदाधिकारी तथा पार्टीका केन्द्रीय सदस्य, सरकारी तथा गैरसरकारी तहका कर्मचारी, उद्योग व्यवसायी, विदेशी कुटनीतिज्ञ लगायत विभिन्न तहका महानुभावहरुलाई आमन्त्रण गरेको कांग्रेसले जनाएको छ । चियापान कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको छ । सो कार्यक्रममा कबिर ७ हजारभन्दा बढि व्यक्तिलाई शुभकामना कार्ड वितरण गरिएको कांग्रेस स्रोतले बताएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम गर्दै आएको छ । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले चियापान कार्यक्रमको शुभारम्भ २०३५ सालदेखि गर्नुभएको थियो । बीपीको निधनपछि पनि कांग्रेसले यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]