आज विश्व खाद्य दिवस मनार्इंदै

२०७१ आश्विन ३० गते, बिहीबार


काठमाडौं, असोज ३० । पारिवारिक खेती: सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔँ’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । विश्वको खाद्य समस्यालाई एकताबद्ध रुपमा सम्बोधन गर्ने उद्देश्यले विश्व खाद्य तथा कृषि सङ्गठनको आह्वानमा दिवस मनाउन थालिएको हो । यो वर्षको दिवसमा पारिवारिक खेतीमा जोड दिईएको छ । परिवारका सबै सदस्य सहभागी भई वातावरणमा असर नपर्ने गरी खेती गरे मात्र मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने कृषि विभागका महानिर्देशक डाक्टर युवकध्वज जिसीले बताए । सरकारले मुलुकलाई सन् २०२५ सम्ममा भोकमरीमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ ।
विभागका महानिर्देशक जिसीले गरिबी दर क्रमशः घट्दै गएको र उत्पादनमा वृद्धि बढेकाले निर्धारित समयमै लक्ष्यमा पुग्ने दावी गरे । नेपालमा उत्पादित खाद्यान्न पर्याप्त नभएकाले खाद्य समस्या देखिएको कृषि व्यवसाय तथा बजार विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिबाबु तिवारीले बताए ।
उनले झण्डै ३६ जिल्लाका २४ प्रतिशत नागरिक खाद्यान्न उपभोग गर्नबाट बञ्चित रहेका पनि बताए । उपभोग्य खाद्यान्न उत्पादन वार्षिक रुपमा ६० लाख मेट्रिक टन हुने हो भने खाद्य अभाव नहुने तिवारीको भनाई छ । यस्तै दिवसको अवसरमा आज कृषि विभाग र पशु सेवा विभागले उत्कृष्ट किसान र उद्यमीलाई पुरकार सहित सम्मान गर्दैछ ।

प्रतिक्रियाहरु

[anycomment]