नयाँ शक्ति निर्माणको लागि दुई दलको अपिल
काठमाडौ । बर्तमान राजनीतिक गतिविधिवाट आक्रान्त भएका आम नागरिकको भावनालाई आत्मसाथ गर्दै संविधान सभाको चुनाब बहिष्कार गरेका राष्ट्रिय पुनर्जागरण पार्टी र नेपाल गणतान्त्रिक जनता पार्टीले अब राष्ट्रलाई विकास र समृद्विको वाटोमा लैजान नयाँ शक्तिको आवश्यकता भएकाले चाँडै नयाँ शक्ति निर्माणमा जुट्ने प्रतिवद्वता व्यक्त गरेका छन् । दुवै पार्टीका अध्यक्षद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तीमा आम नागरिकको हितमा कार्य गर्न नयाँ शक्तिको आवश्यकता परेको उल्लेख छ । राष्ट्रिय पुनर्जागरण पार्टी अध्यक्ष डि.वि. थापा र नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष युवराज सफलको संयुक्त हस्ताक्षार रहेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ ः
देशी वा विदेशी फोहोरी खेलका कारण आज देश आक्रान्त बनेको छ । नेपाली नागरिकहरुको आवाज वोल्ने र तिनका पीडामा मलम पट्टी लगाउने शक्तिको अभाव अझ खड्किएको महशुस हामी सबैले गरेका छौँ । यही तीतो सत्यलाई आत्मासाथ गर्दै हामी विगतदेखि नै निरन्तर रुपमा नयाँ शक्ति निर्माण गर्नेको अभियानमा लागि रहेका छौँ । त्यसै क्रममा हामीले विगत केही महिना अघि सबै राजनीतिक शक्ति वीच बृहद् एकता हुन पर्छ र राष्ट्र जोगाउने र राष्ट्रिय विकास र समृद्विका लागि सबैले एउटै साझा मोर्चा या साझा चौतारी निर्माण गरी अगाडि बढ्नु पर्छ भन्दै तत्कालीन राष्ट्रिय पुनर्जागरण पार्टी ,नेपाल गणतान्त्रिक जनता पार्टी र गणतान्त्रिक पार्टी नेपालवाद बीच पार्टीगत एकता गर्ने निर्णय गरेका थियौँ । त्यसपछि हामी झन् उत्साहित हँुदै आएका छौँ र अझ कसरी हामी बृहद् र व्यापक बन्ने र राष्ट्र र जनताको हितमा कसरी प्रभावकारी ढंगले कार्य गर्ने भन्ने कुराले हामीलाई घोचि रहेको छ । सबै आम नेपालीलाई एउटै मंचमा ल्याई राष्ट्रको बृहत्तर हितमा कसरी सरिक गराउने भन्ने चिन्ताले समेत हामीलाई पिरोलेको छ । अत हामी तीन पार्टीको एकीकरणले मात्र बलियो नहुने हँुदा अझ बलियो र सशक्त हँुदै सबैलाई समेट्दै अगाडि बढ्न पर्ने आवश्यकता हामीले देखेका छौँ ।
यसै बीच साँच्चै देशलाई माया गर्ने र देशको हित तथा भलो चाँहने अरु धेरै शक्तिहरु पनि यो देशमा रहेका कारण ती शक्तिहरुसँग पनि सहकार्य गर्दै जानु पर्ने कुरालाई पनि हामीले बोध गरेका छौँ । देश र नेपाली नागरिकलाई समृद्व बनाउन हिँडेका विभिन्न शक्तिहरुलाई एक ठाँउमा ल्याई नयाँ शक्तिको गठन गर्नु पर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौँ ।
साथै हिजो तीन पार्टी एकीकरण गर्दा राष्ट्रिय पुनर्जागरण पार्टी र नेपाल गणतान्त्रिक जनता पार्टीले मूख्य भूमिका खेलका तथा दुई पार्टीले नै पार्टीगत स्वार्थलाई तिलाञ्जली दिदैँ राष्ट्रिय स्वार्थमा केन्द्रीत हुने साहसिक निर्णय गरेको थियो । आज फेरि विगतमा गरेका राम्रा र उत्तम कार्यहरुको स्वामित्व ग्रहण गर्दै एकतालाई जोगाउँदै फेरि पनि अझ हाम्रो अभियानलाई सशक्त बनाउन दुई पार्टीले अर्को पहल गर्नु पर्छ भन्ने निचोडमा हामी पुगेका छौँ , र आफैँले केही महिना अघि एकीकरण गरी बनाएको गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादले मात्र सबै तह र तप्कामा रहेका आम नागरिकलाई समेट्न नसकेको र अझ हाम्रो अभियानलाई वृहद् बनाउँदै लैजान पर्ने भएकोले आजैको मितिदेखि त्यो संरचनाको विघटन गरिएको व्यहोरा समेत अबगत गराउँन चाहन्छौँ । अब हामी चाँडै नै सबै नेपाली अटाउन सक्ने ,सबैको अस्तित्व रक्षा गर्ने , सबैको अधिकारको ग्यारेण्टि गर्ने र सबैको साझा पहिचानको कदर गर्ने त्यस्तो राष्ट्रिय शक्तिको निर्माण गर्ने प्रतिवद्वता व्यक्त गर्दछौँ । आजकै मितिदेखि हामी त्यस कार्यमा लाग्ने र यो कार्यमा लाग्न चाँहने विभिन्न पक्षसँग वार्ता, छलफल,विचार —विमर्श र भेटघाटलाई तिव्रता दिदैँ मूलुक समृद्व पार्ने अभियानमा लाग्ने प्रतिज्ञा गर्दै यस कार्यमा साथ दिनु हुन सम्पूर्ण नेपाली नागरिकहरुमा हार्दिक तथा विनम्र अनुरोध गर्दछौँ ।